देश

कास्की–२ मा धनराज गुरुङको सम्भावना टर्यो

काठमाडौं, कात्तिक २०–नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद धनराज गुरुङ आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा कास्की– २ बाट उम्मेदवार बन्ने सम्भावना टरेको छ । दुई दिनदेखि जारी कांग्रेस केन्द्रीय पदाधिकारी बैठकले कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल चलिरहँदा केन्द्रीय सदस्य गुरुङले आफैं उपस्थित भएर उम्मेदवार बन्न अनिच्छा देखाएका हुन् ।

बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकमा उपस्थित भएर गुरुङले सो स्थानमा स्थानीय साथीहरुलाई नै प्राथमिकता दिएर उम्मेदवार बनाउन उपयुक्त हुने राय दिएकोले उनको सम्भावना टरेको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार ट्वीट गर्दै उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा केन्द्रीय सदस्य धनराज गुरुङलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रूपमा चर्चा भइरहेको अवस्थामा गुरुङ आफैं उपस्थित भएर उम्मेदवार बन्न अनिच्छा देखाएको जनाएका छन् ।

उपनिर्वाचनको लागि उम्मेदवार चयन गर्न बसेको कांग्रेस पदाधिकारी बैठक कास्की २ को प्रतिनिधिसभा सदस्यमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सहमति जुट्न नसकेपछि बैठक लम्बिएको थियो । कास्की क्षेत्र नं २ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले देवराज चालिसेलाई बनाउन दबाब दिँदै आएका छन् ।

Featured