देश

भारतले जारी गरेको नक्साप्रति साझा पार्टीको आपत्ति

काठमाडौं, कात्तिक २०–नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो भूभाग भनि नक्सामा समावेश गरेकोमा साझा पार्टीले आपत्ति जनाएको छ । साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले विज्ञप्ती निकाल्दै भारतले हालै जारी गरेको नयाँ नक्साप्रति आपत्ति जनाएको हो ।

‘भारत सरकारको यो कदम अन्तर्रा्ष्ट्रिय कानुन विपरित नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथीको ठाडो हस्तक्षेप हो,’ विज्ञप्तिमा भनिएको छ । साझा पार्टीले भारतले हालै जारी गरेको नयाँ नक्साको बारेमा सरकारसँग स्पष्टिकरण पनि माग गरेको छ । विज्ञप्तिमार्फत् साझाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्न तथा भारतले जारी गरेको नक्सा सच्याउन भारतलाई आग्रह गर्न समेत सुझाएको छ ।

नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीको प्रयासमा भएको सीमा क्षेत्रका पिलरहरुको निर्माण, मर्मत र सर्वेक्षण कार्यमा प्रयोग भएका प्रविधि, ऐतिहासिक तथ्य एवं नापनक्साका साथै हालसम्मको कार्यप्रगतिबारे जानकारी गराउन पनि नेपाल सरकारलाई अनुरोध गरेको छ । मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित मुद्दामा नेपाल सरकार र सबै राजनीतिक दल एकै ठाउँमा उभिनुपर्नेमा पनि साझाले जोड दिएको छ ।

Featured