देश

प्रदेश प्रमुख नियुक्तिबारे आयोगसँग छलफल भएन’

काठमाडौं, कात्तिक २०–सरकारले उपनिर्वाचन आचारसंहिता लागू भएपछि प्रदेश प्रमुखहरुको बर्खास्तगी र नियुक्ति गरेको विषयमा निर्वाचन आयोग असन्तुष्ट देखिएको छ । आयोगले गत ४ कात्तिकबाटै उपनिर्वाचन आचारसंहिता लागू भएपनि प्रदेश प्रमुख हटाउने र नयाँ नियुक्ति गर्ने विषयमा सरकारले कुनै सहमति नलिएको असन्तुष्टि जनाएको छ ।

निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त इश्वरी प्रसाद पौड्यालले प्रदेश प्रमुख हटाएको र नयाँ नियुक्तिबारे आयोगसँग कुनै परामर्श र सहमति नलिइएको बताए । उनले भने, ‘प्रदेश प्रमुख पदमुक्त गर्ने र नयाँ नियुक्त गर्ने विषयमा सरकारले आयोगसँग कुनै परामर्श गरेको छैन ।’

पौड्यालका अनुसार आचारसंहिता उल्लंघन भएको विषयमा कुनै उजुरी समेत नपरेका कारण आयोग यो विषयमा मौन छ । उनले भने, ‘निर्वाचन आचारसंहिता लागू भएपछि सरकारले यस्ता काम गर्न हुने÷नहुने विषयमा कुनै कुरा उल्लेख छैन । यो सरकारको नैतिक कुरा हो ।’ सरकारले गत सोमबार ७ वटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो । नयाँ प्रदेश प्रमुखहरुले मंगलबार नै शपथ ग्रहण गरिसकेका छन् ।

Featured