देश

नैतिक पतन लुकाउन पार्टीलाई ढाँटियो :प्रचण्ड

दाङ, कात्तिक २०–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नै पार्टीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले ठूलो नैतिक गल्ती गरेको बताएका छन् । जिल्ला अदालत काठमाडौंले जबर्जस्ती करणी अभियोगमा मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामा राख्न आदेश गरेपछि मुख खोलेका प्रचण्डले महराले आफू र पार्टीलाई समेत ढाँटेको बताए ।

आज दाङमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘मैले नेताहरू नारायणकाजी श्रेष्ठ र जोखबहादुर महरालाई के भएको बुझ्न पठाएँ, आफैंले पनि सोधें तर उहाँले आफूमाथि लागेको अभियोगका बारेमा पूरै ढाँट्नुभयो ।’ उनले पार्टी नेतृत्वलाई ढाँटेर र आफू नैतिक रूपमा गलत कार्यमा संलग्न भएका कारण महराका विषयमा अब बहस गर्न जरुरी नरहेको पनि पत्रकारहरूलाई बताए ।

महराको गल्ती नैतिक भएको भन्दै उनले यस्तो विषयमा मुख्य नेताहरूले विवाद गर्न नहुने बताए । उनको गल्तीबारे अदालतले आवश्यक न्यायिक निर्णय गर्ने नेकपा अध्यक्ष प्रचण्डको विश्वास छ। महराले कानुनी प्रक्रियामा सहयोग गर्नुपर्नेसमेत उनले बताए । संसद् सचिवालयकै एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा छन् ।

Featured