देश

काठमाडौँ–तराई द्रुतमार्ग : पुल र टनेलको काम यसै वर्षबाट

काठमाडौं, कात्तिक २०–काठमाडौँ–तराई जोड्ने निर्माणाधीन द्रुतमार्गमा पर्ने पुल तथा टनेलको निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरु हुने भएको छ । यस द्रुतमार्गमा निर्माण गरिने विशेष प्रकृतिका पुल तथा टनेलका लागि अन्तर्रा्ष्ट्रिय निर्माण कम्पनी चयन गर्न मङ्सिर १ गते ‘प्रिक्वालिफिकेसन’ बोलपत्र गरिने भएको छ । साधारण प्रकृतिका पुल निर्माणका लागि भने स्वदेशी कम्पनी चयन गर्न यसै साताभित्र बोलपत्र आह्वान गरिने उक्त दु्रतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले विशेष प्रकृतिका पुल तथा टनेलका लागि अन्तर्रा्ष्ट्रिय निर्माण कम्पनी चयन गर्न मङ्सिर १ गते ‘प्रिक्वालिफिकेसन’ बोलपत्र आह्वान भई पुस १६ गते ‘सर्ट लिस्टिङ’ गरिने स्पष्ट पारे ।

“सबभन्दा पहिले ‘प्रिक्वालिफिकेसन’का लागि बोलपत्र आह्वान गरिनेछ र रुचि देखाएका विदेशी कम्पनीहरूलाई सूचीकृत गरिनेछ,” उनले कार्य्विधि स्पष्ट पार्दै भने, प्रिक्वालिफाइड भएका कम्पनीहरूमध्ये ‘सर्ट लिस्टिङ’मा परेका कम्पनीहरूले माघभित्र आर्थिक तथा प्राविधिक प्रस्ताव पेस गर्नेछन् र यस आर्थिक वर्षको असारसम्म निर्माण कम्पनीसँग सम्झौता गरी काम पनि सुरु गर्नेछन् ।” यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured