खेलकुद

आइसीसी टी-२० विश्वकप एशिया छनोटका लागि नेपाली टोलि को विदाई।

काठमाडौँ, असार २४- सिंगापुरमा आयोजना हुने आइसीसी टी-२० विश्वकप एशिया छनोटका लागि मंगलबार नेपाली क्रिकेट टोलीलाई मंगलबार बिदाइ गरिएको छ।

आज आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त सदस्य-सचिव रमेश सिलवालले कप्तान पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे।

नेपाली टोली आज दिउँसो १ बजे मलेसिया प्रस्थान गरेको छ। सिंगापुरमा आयोजना हुने उक्त आइसिसी टी-२० विश्वकप एशिया छनोट फाइनल प्रतियोगिताको तयारीको लागि नेपाली टोली सिंगापुर जानुअघि मलेसिया जान लागेका हुन्।

नेपालले यही असार २८ र २९ गते घरेलु टोली मलेसिया सँग दुई खेलको टी-२० सिरिज खेल्नेछ। उक्त खेल पछि नेपाल आइसिसी टी-२० विश्वकप एशिया छनोट फाइनलको लागि सिंगापुर जाने छ

आइसिसी टी-२० विश्वकप एशिया छनोट फाइनल प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन्। नेपालले आफ्नो पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

त्यस्तै साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिंगापुरसँग खेल्नेछ। शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन्। ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, व्सन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी छन् । वैकल्पिकतर्फ सुशन भारी, कुशल भुर्तेल, आरिफ शेख र जितेन्द्र मुखिया छन् ।

Featured