देश

सेन्ट्री बसेका विप्लवका कार्यकर्ता नै प्रहरीका ‘सुराकी’

दाङ, कात्तिक १९–प्रहरीलाई सूचना दिएर दाङको राजापुरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ जना नेता पक्राउ गराएको आरोपमा उक्त पार्टीले चार जना आफ्नै कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। पार्टी अनुसन्धानबाट ती कार्यकर्ताले ‘गद्दारी’ गरेको पुष्टि भइसकेको एक केन्द्रीय नेताले बताए। ‘अब उनीहरूलाई के–कस्तो कारबाही गर्ने पार्टीले तय गर्छ,’ उनले भने। ती नेताले दाङको राजापुरमा भएको पार्टी बैठकका लागि सुरक्षामा खटिएका केही कार्यकर्ताले नै प्रहरीका लागि सुराकीको काम गरेपछि नेताहरू पक्राउ परेको जनाए।

ती कार्यकर्ता सुरूमा बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सरसामान तथा लागुपदार्थ ओसारपसार गर्ने गरेको पनि उनले आरोप लगाए। ती युवालाई पक्रिएर नेकपा विप्लवको सुराकी गर्ने शर्तमा प्रहरीले छाडेको आशंका उनले गरे। ‘उनीहरू लामो समयदेखि हाम्रो सम्पर्कमा थिए। पार्टीले पनि स–सानो जिम्मेवारी दिँदै गयो। उनीहरूले पूरा गर्दै गए,’ उनले भने, ‘पार्टीका आन्तरिक बैठकमा पनि उनीहरूलाई आउजाउको समस्या थिएन।’

प्रहरीले चन्द सुतेकै घरलाई लक्षित गरेर घेरा हालेपछि वरपरको घरमा सुतेका अन्य नेताहरू भाग्न सफल भएको उनले बताए। प्यूठान, रोल्पा, सल्यान र रूकुम जिल्लाका इञ्चार्ज र सेक्रेटरी भाग्न सफल भएको उनको दाबी छ। ती चार युवाले आफूले सुराकी गरेको स्वीकार गरिसकेको पनि उनले बताए। पार्टीमाथि गद्दारी गर्नेहरूलाई रिपोर्टसहित हेडक्वार्टरमा बुझाइसकेको उनले जानकारी दिए।

‘उनीहरुलाई कस्तो कारबाही गर्ने हेडक्वार्टरले टुंगो लगाउँछ,’ उनले भने। दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले चार युवा विप्लव समूहको नियन्त्रणमा रहेकोबारे जानकारी नआएको बताए। ‘घर परिवार र कतैबाट हालसम्म प्रहरीमा त्यस्तो कुनै जाहेरी परेको छैन। फोनमा समेत कसैले कुनै खालको सूचना दिएको छैन। त्यसैले त्यो हो भन्ने विश्वास लाग्दैन,’ एसपी भट्टराईले भने।

पार्टीको नियन्त्रणमा परेका भनिएका युवाका अविभावकले समेत उनीहरूबारे जानकारी पाएका छैनन्। भूमिगत रूपमै पार्टीमा काम गर्दै आएकाले ती युवा अहिले कहाँ छन् भन्नेबारे परिवारसमेत अनभिज्ञ रहेको विप्लवका नेताले बताए।

Featured