देश

मुख्यमन्त्री कार्यालयमा ताला लगाउन खोज्दा पाँच घण्टा प्रहरी नियन्त्रणमा

काठमाडौं, कात्तिक १९–प्रदेश नं. २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तालाबन्दी गर्न खोज्दा धनुषाका पाँच दर्जन अस्थायी शिक्षक पाँच घण्टा प्रहरी नियन्त्रणमा बसेका छन् । आन्दोलनमा रहेका अस्थायी शिक्षकहरु मंगलबार दिउँसो पक्राउ परेका थिए । उनीहरु पाँच घण्टापछि रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ परेका सबै ६० जना शिक्षकलाई केहीबेर अघि रिहा गरेको हो ।

पूर्वअस्थायी शिक्षक सघर्ष समितीका प्रदेश २ संयोजक धर्मेन्द्र यादवसहित सबैलाई छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले बताए । पक्राउ परेका शिक्षकहरुलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको थियो । सेवाबाट बर्खास्त गरिएपछि पुनर्बहालीको मागसहित आन्दोलन गर्दै आएका उनीहरुले मंगलबार दिउँसो मुख्यमन्त्री कार्यालयअगाडि आधा घण्टा चक्काजामसमेत गरेका थिए । यसअघि अस्थायी शिक्षकहरुले असार २० देखि एक महिनासम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअगाडि धर्ना दिएका थिए ।

Featured