देश शिक्षा

धर्नामा बसेका ६० अस्थायी शिक्षक पक्राउ

धनुषा, कात्तिक १९–प्रदेश नं. २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तालाबन्दी गर्न पुगेका ६० जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमा पूर्व अस्थायी शिक्षक सघर्ष समितीका प्रदेश २ संयोजक धर्मेन्द्र यादवसहित छन् ।

कर्मचारीलाई मुख्यमन्त्री कार्यालय प्रवेशमा अवरोध गर्दै तालाबन्दी गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिनु परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका शिक्षकहरुलाई प्रहरीको थुनुवा कक्षमा राखिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामेश्वर कार्कीले बताए ।

सेवाबाट बर्खास्त गरिएपछि पुनर्बहालीको मागसहित आन्दोलन गर्दै आएका उनीहरुले मंगलबार दिउँसो मुख्यमन्त्री कार्यालयअगाडि आधा घण्टा चक्काजामसमेत गरे । यसअघि अस्थायी शिक्षकहरुले असार २० देखि एक महिनासम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअगाडि धर्ना दिएका थिए ।

Featured