देश

रामग्राम स्तुपाको जियोफिजिक्स सर्भे हुने

नवलपरासी, कात्तिक १९–भगवान् गौतमबुद्धको अस्तुधातु रहेका स्थल पश्चिम नवलपरासीको रामग्राम(७ उजौनीस्थित रामग्राम स्तुपा क्षेत्रको तत्कालै भौगर्भिक अध्ययन (जियोफिजिक्स सर्भे) हुने भएको छ । युनेस्कोमार्फत युके एलायन्सको आर्थिक सहयोग, बेलायतको डुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषको सहकार्यमा रामग्राम स्तुपामा गर्न लागिएको भौगर्भिक अध्ययनका लागि बेलायतबाट विज्ञहरुका टोली नेपाल आउन लागेको हो ।

आवश्यक प्रविधिसहित विज्ञको टोली कात्तिक २० गते बुधबारसम्म यहाँ आइपुग्ने छ । त्यसपश्चात् टोलीले रामग्राम स्तुपामा भौगर्भिक अध्ययन काम थाल्ने लुम्बिनी विकास कोषका संग्रहालय अधिकृत ध्रुवनारायण पाण्डेले बताए । टोलीले आगामी मंसिर १ गतेसम्म भौगर्भिक अध्ययन काम गर्नेछ । नेपालमा सरकारी कार्यालयमा भौगर्भिक अध्ययन गर्ने उच्च प्रविधि तथा मेसिनरी उपकरण र पर्याप्त विज्ञ जनशक्ति छैनन् । उक्त कार्यका लागि आवश्यक उपकरणसहित बेलायतको डुरह्याम विश्वविद्यालयबाट विज्ञको टोली नेपाल आउन लागेको लुम्बिनी विकास कोषले जनाएको छ ।

भौगर्भिक अध्ययनअन्तर्गत प्रविधि तथा उपकरणमार्फत जमिनको सहतबाट करिब तीन मिटर भित्रसम्मको बनोटको अवस्थालाई तस्बिर (एक्सरे) सरह कैद गर्न सकिन्छ । जसबाट उक्त रिपोटका आधारमा आवश्यक स्थानको पहिचान गरी उत्खनन कार्यलाई सघाउ र्पुयाउन मद्दत पुग्दछ । यस पटकको भौगर्भिक अध्ययनबाट अब आगामी दिनमा रामग्राम स्तुपा क्षेत्रमा हुने उत्खनन तथा अन्वेषणमा सहज हुनेछ । यो सर्भेले स्तुपा क्षेत्रमा कहाँ के संरचना छन् भन्ने थाहा हुन्छ । यसअघि १९ वर्षअघि सन् १९९९ मा स्तुपाको पश्चिमतर्फ सोही सर्भे गरी सोही वर्ष पुरातत्व विभागबाट उत्खनन पनि गरिएको थियो ।

यस स्थानमा गौतमबुद्धसँग सम्बन्धित बुद्धकालीन भग्नावशेष, माटाका भाँडाकुँडालगायत विभिन्न भग्नावशेष यसअगावै फेला परिसकेका छन् । रामग्राम स्तुपामा १९ वर्षपछि बल्ल पुनः जियोफिजिक्स सर्भे गर्न लागिएको हो । स्तुपा वरपरको क्षेत्रमा बृहत् सर्भे गरेर उत्खननलाई अगाडि बढाउने लुम्बिनी विकास कोषले जनाएको छ । जसबाट अब रामग्राम स्तुपाको विकास तीव्र गतिमा हुने आशा पलाएको छ ।

लामो समयसम्म उत्खनन नहुँदा रामग्राम स्तुपा महत्वपूर्ण भएर पनि ओझेलमा परेको छ तर हाल लुम्बिनी विकास कोषले रामग्रामको विकासमा चासो देखाएपछि रामग्रामको थप विकास हुनेमा स्थानीयवासी आशावादी बनेका छन् । रामग्राम स्तुपा र पण्डितपुरमा उत्खननमा भेटिएका प्राचीन पुरातात्विक वस्तु यस क्षेत्रमै संग्रहालय बनाएर राख्नुपर्ने रामग्राम पर्यटन विकास संस्थाका अध्यक्ष शम्भुप्रसाद उपाध्यायले बताए ।

पछिल्लो पटक रामग्राम स्तुपा क्षेत्रको पर्यटकीय विकासमा चीनको बेइजिङमा रहेको चीन(नेपाल संस्कृति आदानप्रदान केन्द्रले समेत चासो देखाएको छ । रामग्राम स्तुपा क्षेत्रमा जग्गा उपलब्ध गराउन सकेमा चीन नेपाल संस्कृति आदानप्रदान केन्द्रले सहयोग गर्न तयार रहेको सोका लागि केन्द्रको टोलीले यसअगावै रामग्राम क्षेत्रको अवलोकन गरिसकेको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।

रामग्राम स्तुपा युनेस्कोको विश्व सम्पदाको सम्भावित सूचीमा छ । भगवान् गौतमबुद्धका सात वटा अष्ठधातुमध्ये एउटा मात्र सिंगो अष्ठधातु यस रामग्राम स्तुपा क्षेत्रमा रहेको बताइन्छ । यस क्षेत्रमा पुरातात्विक अन्वेषण गर्ने चासो सन् १८९६ देखि सुरु भएको हो । यो स्थलको महत्वपूर्ण विशेषता ठूलो स्तुपा हो । यसको लम्बाइ १० मिटर छ भने व्यास २३ दशमलव ५ मिटर रहेको छ ।

चिनियाँयात्री फासियान (पाँचौँ शताब्दी) र युवानचाङ (सातौँ शताब्दी) को यात्रा विवरणको आधारमा पुरातत्व विभागका बाबुकृष्ण रिजालले बुद्ध अस्तु राखी बनाइएका आठ वटा स्तुपामध्ये यो रामग्राम स्तुपा हो भनी पहिचान गरेको रामग्राम स्तुपा क्षेत्रमा राखिएको जानकारीमूलक सूचना पाटीमा उल्लेख छ । ( रासस)

Featured