देश

न्यायमा सबै समुदायको पहुँच बढाउन सरकार प्रतिबद्ध :कानुनमन्त्री

काठमाडौं, कात्तिक १९–कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक रूपले विपन्न नागरिक, सीमान्तकृत वर्ग र पिछडिएको समुदायको न्यायमा पहुँच अभिवृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । अमेरिकाको वासिङ्टन डिसीमा विश्व बैंक समूहद्वारा आयोजित ‘कानुन, न्याय र विकास सप्ताह २०१९’ मा मन्त्री ढकालले सो प्रतिबद्धता जनाएका हुन् ।

सप्ताहअन्तर्गतको पहिलो दिनको भिआईपी प्लानरी सेसनअन्तर्गतको ‘जस्टिस रिफर्म सेक्टर एन्ड टेक्नोलोजी’ विषयमा उनले न्यायपालिकामा सूचना तथा प्रविधिको प्रयोगको वर्तमान अवस्था र चुनौतीबारे विचार राखेका छन् । अदालतमा सूचना प्रविधिको क्षेत्रमा गर्नुपर्ने आवश्यक पूर्वाधार तथा जनशक्ति विकासका लागि विश्व बैंकसँग मिलेर सहकार्य गर्न नेपाल सरकार इच्छुक रहेको उनले बताए । सो सत्रमा २५ देशका कानुन तथा न्यायमन्त्री, सर्वोच्च अदालतका प्रधान न्यायाधीश, महान्यायाधिवक्तालगायत उच्चपदस्थ सरकारी अधिकारीको सहभागिता थियो ।

Featured