विदेश

अल्जेरियाको पूर्वमन्त्रीलाई भ्रष्टाचारको अभियोगमा जेल चलान।

अल्जिएयर्स, सिन्ह्वा, असार २४- अल्जेरियाको सर्वोच्च अदालतले एक जना पूर्वमन्त्रीलाई भ्रष्टाचारको आरोपमा जेल सजायको फैसला सुनाएको छ। अल्जेरियाको पूर्व राष्ट्रिय एकता तथा पारिवारिक मामिला मन्त्री साइद बेर्कातलाई अदालतले सोमबार दोषी ठहर गर्दै चलान गर्ने  फैसला गरेको हो।

उत्तरी अफ्रिकी मुलुक अल्जेरियामा भ्रष्टाचार विरुद्ध देशव्यापी र व्यापक आन्दोलनहरू भइरहेका बेला अदालतले यस्तो फैसला गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मन्त्री हुँदा कृषि र स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएका पूर्वमन्त्री बेर्कात अहिले ७१ बर्षको रहेका थिए।

पूर्वराष्ट्रपति अब्डेलाजिज बौटेफ्लिका शक्तिमा आएसँगै सन् १९९९ मा बेर्कात मन्त्री बनेका थिए । यसअघि गत आइतबार त्यही मन्त्रालयका अर्का पूर्वमन्त्री डिजामेल औल्ड अब्बेसलाई पनि यस्तै मुद्दामा जेल सजायको फैसला भएको थियो ।

यी बाहेक दुई पूर्वप्रधानमन्त्री अब्डेल्मालेक सेल्लाल र अहमद औयाहीयासहित केही उच्च सरकारी अधिकारीहरूलाई पनि भ्रष्टाचारको अभियोगमा त्यहाँको सर्वोच्च अदालतले यसअघि नै जेल चलान गरिसकिएको छ।

Featured