खेलकुद देश

लिटिल बुद्ध, शारदा विद्या निकेतन र भक्तपुर निष्ट क्वार्टरफाइनलमा

धनगढी, कात्तिक १९–लिटिल बुद्ध एकेडेमी कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी र भक्तपुर निष्ट स्कुल धनगढीमा जारी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो संस्करणको क्वाटरफाइनल प्रवेश गरेका छन् । संघीय प्रहरी कार्यालयको खेल मैदानमा मंगलबार भएको दोस्रो खेलले अन्तिम आठको समिकरण पुरा गरेको हो । समुह ‘ए’ को उपविजेताका रुपमा लिटिल बुद्ध एकेडेमी क्वार्टरफाइनल प्रवेश गरेको हो । यसअघि नै लिटिल फ्लावर स्कुल समूह विजेताका रुपमा अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो ।

लिटिल बुद्धले मंगलबार भएको दोस्रो खेलमा त्रिनगर माविलाई ९६ रनको फराकिलो अन्तरले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । सन्तोष भट्टले अलराउण्ड प्रदर्शन गरेपछि लिटिल बुद्ध त्रिनगरविरुद्ध सहज जित निकाल्न सफल भयो । टस हारेर ब्याटिङको निम्तो पाएको लिटिल बुद्धले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रनको जोडेको थियो । सन्तोष भट्टले ५४ बलमा ९४ रनको शानदार इनिङ खेलेपछि लिटिल बुद्धले विशाल योगफल खडा गरेको थियो । यस्तै, विशाल ऐर २९ रनमा नटआउट रहे भने त्रिनगरका लागि अमित परियारले २ विकेट लिन सफल भए ।

१ सय ६६ रनको विशाल लक्ष्य लिएर मैदान ओर्लिएको त्रिनगर १७.४ ओभरमा केबल ६९ रन बनाएर अलआउट भयो । त्रिनगरका लागि सिर्जन कुँवरले १२ तथा हिक्मत सेट्टीले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् भने ३ जना खेलाडी डकआउट भए । लिटिल बुद्धका लागि निराजन गौतमले ५ विकेट लिए भने म्यान अफ द म्याचसमेत भएका सन्तोष भट्टले ३ जना खेलाडीलाई पभेलियन फर्काए । भट्टले नगद १ हजार ५ सयसहित ट्रफी पाए ।

यस्तै, मंगलबार नै भएको अर्को खेलमा हारका बावजुद शारदा विद्या निकेतन क्वाटरफाइनल प्रवेश गर्न सफल भएको छ । सरस्वती नमुना माविसँग १५ रनले पराजित भएपनि शारदा समुह ‘बी’को विजेता बन्दै अन्तिम आठमा पर्न सफल भएको हो ।

शारदाको हारले भक्तपुर निष्ट स्कुललाई फाइदा पुगेको छ । समुह ‘बी’मा रहेका शारदा, सरस्वती र भक्तपुर निष्टले समान १–१ जित र हारको नतिजा निकालेपछि रनरेटका आधारमा शारदा समुह विजेता भयो भने र भक्तपुर निष्ट उपविजेता बनेको हो । जितका बावजुद सरस्वती प्रतियोगिताबाट बाहिरिएको छ ।

सन्तोष चन्दले ५१ रन बनाउँदै अर्धशतकीय इनिङ खेलेपछि टस हारेर पहिले ब्याटिङ गरेको सरस्वतीले २० ओभरमा अलआउट हुँदै १ सय ६५ रन बनायो । सरस्वतीका लागि हृदय विडारीले ४८ रन तथा विनोद खत्रीले २४ रनको योगदान दिए । शारदाका लागि नरेन सावदले ३ तथा सुरेन्द्र पन्तले २ विकेट लिए ।

१ सय ६६ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रनमात्रै बनाउन सकेपछि १५ रनले पराजित भएको थियो । शारदाका लागि अर्जुन सावदले ५२ रन जोड्दै अर्धशतक पुरा गरेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन । यस्तै, विरेन्द्र नाथले ४१ रन तथा सुरेन्द्र पन्तले २५ रन जोडेका थिए । सरस्वतीका लागि हृदय विडारीले २ तथा सुनिल लोथ्याल र सन्तोष चन्दले समान १–१ विकेट लिए । ४८ रन बनाएर २ विकेट लिएका सरस्वतीका हृदय विडारी ‘म्यान अफ द म्याच’ हुँदै नगद १ हजार ५ सयसहित ट्रफी पाएका थिए ।

२६ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगिताका बुधबार २ खेल हुनेछन् । पहिलो खेलमा नोबेल एकेडेमी कञ्चनपुर र सत्यवती एकेडेमी तथा दोस्रो खेलमा सैनिक आवासिय महाविद्यालय र हिमालय ह्वाइट हाउसबीच प्रतिस्पर्धा हुने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

देशभरका १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख तथा उपविजेताले १ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले बताएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डरले जनही ५ हजार रुपैयाँ पाउने छन् । लिग कम नकआउट फम्र्याटमा भइरहेको प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सो विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी समावेश छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीमध्ये उत्कृष्ट छनोट गरेर एकदिवसीय प्रतियोगिता पनि सञ्चालन गर्ने आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ । विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले बताए ।

Featured