डडेल्धुरा, कात्तिक १९–१७औं चरणको अनशनमा रहेका चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले सोमबारदेखि सुरु गरेको अनशन दोस्रो दिन पनि जारी छ । सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेसका पार्टी सभापति कर्णबहादुर मल्लले उनको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएका छन् । मंगलबार दिउँसो कार्यकर्तासहित अनशनरत केसीलाई भेटेर उनले ऐक्यबद्धता जनाएका हुन् ।
उनले डा. केसीलाई भेटेर पवित्र महाअभियानमा डडेल्धुरा कांग्रेसको साथ रहेको बताए । साथै, उनले सम्पूर्ण सुदूरपश्चिमबासीमा गरिबको स्वास्थ्यका लागि थालिएको अभियानमा सहयोग गर्न अनुरोधसमेत गरेका छन् । डा. केसी डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालनजिकै रहेको निर्मल क्लिनिक रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसिरहेका छन् ।
डा. केसीले पत्रकार सम्मेलन गरी सोमबार बेलुकी ५ बजेदेखि डडेल्धुरा सदरमुकाममा अनशन सुरू गरेका हुन् । चिसोका बाबजुद पनि सातबुँदे माग अघि सार्दै उनको अनशन जारी छ । माग पूरा नभएसम्म अनशन जारी नै राख्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस