देश

अझै सकिएन आलमको बयान

काठमाडौं, कात्तिक १९–नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमको बयान नसकिएपछि मंगलबार थुनछेक बहस हुन सकेन । राजपुर बम काण्डमा घाइते तथा मृतकलाई इँटाभट्टामा जलाएको अभियोगमा पक्राउ परेका आलमको बुधबार पनि बयान हुने भएको छ ।

आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम बिस्फोट गरी तीनवटा अभियोगमा मुद्दा दायर भएको छ । आलमविरुद्धको अभियोग पत्र तथा मुद्दा मिसिल अत्यन्तै लामो भएका कारण पनि उनको बयानलाई धेरै समय लागेको हो । उनीविरुद्धको अभियोगपत्र ३९ पुष्ठको छ भने मुद्दा मिसिल ८७८ पृष्ठको छ ।

प्रहरीले ४ः३० बजेसम्म आलमको बयान लिएको थियो । आलमको बाँकी बयान बुधबार बिहान १० बजे लिइने जिल्ला अदालत, रौतहटका श्रेस्तेदार गुणराज पराजुरीले जानकारी दिए । बयानका क्रममा आलमका वकिलले काउन्सिलिङका लागि भन्दै समय माग गरेपछि बयान केही समय रोकिन पुगेको थियो ।

४ नम्बर इजलासका जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान लिइएको थियो । अदालतमा बयान दिन उपस्थित आलमका वकिलहरुले काउन्सिलिङका साथै मिसिलको प्रतिलिपि माग गरेर पनि केही समय बयान रोकेको श्रेस्तेदार पराजुलीले बताए । आलमका वकिलको माग अनुसार काउन्सिलिङ र मिसिलको प्रतिलिपि दिएपछि बयान सुरु भएको थियो ।

मंगलबारको बयानमा न्यायाधीश ढकालले आलमलाई ९ वटामात्र प्रश्न सोधेका थिए । उनको परिचय तथा वकिल राखेको सम्बन्धि आधारभुत प्रश्न सोध्ने क्रममा अदालतको समय सकिएपछि बाँकी बयान बुधबार बिहान हुने भएको हो ।

बयान सकिएपछि मात्र थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहसपछि मात्रै अदालतले आलमलाई केकति सजाय दिने भन्ने विषयमा आदेश दिनेछ । आलमलाई कारबाही गरिनुपर्ने माग राख्दै वादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रौतहटका सहन्यायधिवक्ता रामप्रसाद पन्थी, महान्याधिवक्ताको कार्यालय काठमाडौंबाट आएका सुर्यराज दाहाल, अर्जुनप्रसाद कोइराला, सरकारी वकिल कार्यालय पर्साका न्यायधिवक्ता रुद्र पन्थी र जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कटुवालले बहस गर्नेछन् ।

आलम प्रकरणमा वादी तथा प्रतिवादी दुवै तर्फबाट करिब ५० जना वकिलले बहस गर्ने भएका छन् । आलमको तर्फबाट करिब २७ जनाले वकालत नामा लिएका छन् भने सरकारी वकिलका तर्फबाट पनि सोही हाराहारीमा वकिलहरुले बहस गर्नेछन् । आलमलाई रौतहट प्रहरीले गत २६ असोजमा पक्राउ गरेको थियो । सोही अभियोगमा जाहेरी परेका अन्य १० जना अभियुक्तहरु भने अझै फरार रहेका छन् ।

Featured