विदेश

समुद्रमा हराएकी महिलाको पीडा :मिठाईका भरमा ३७ घण्टा

एजेन्सी, कात्तिक १९–न्यूजिल्याण्डकी ४५ वर्षीया कुशिला स्टेनलाई आइतबार ग्रीसको क्रिटि टापुको उत्तरमा रहेको इजिअन सागरबाट उद्धार गरियो । उनी दुई दिनदेखि हराइरहेकी थिइन् । समूद्रमा एक्लै हराएकी कुशिला ३७ घण्टासम्म एक मुठ्ठि ‘बोइल्ड लोली’का भरमा बाँचिन् । बोइल्ड लोली भनेको ओरेन्ज बलजस्तै मिठाई हो । उनले एकदमै फारु गरेर ति मिठाई खाएर आफुलाई जिवित राख्न सफल भएकी थिइन् ।

समूद्रमा हराउँदा मान्छेलाई डर र अत्याससँगै भोक र चिसोले पनि मृत्युको मुखसम्म र्पुयाउँछ । भोक मेट्न मिठाईको भर परेकी कुशिलाले आफुलाई न्यानो बनाउन प्लास्टिकका झोलामा बेरीएर बसेकी थिइन् । भाग्यवश, कुशिला एक कुशल नाविका पनि हुन् । उनलाई समुद्रको राम्रो ज्ञान थियो । त्यसैले खाजी गर्न आउने टोलीले टाढैबाट देख्न सकुन् भनेर उनले टाउकोमा रातो झोला लगाएकी थिइन् भने ऐना टल्काएर संकेत पनि दिइरहेकी थिइन् ।

ग्रीस कोस्ट गार्डको बृहत खोजी टोलीले उनलाई ग्रीसको सबैभन्दा ठूलो टापु क्रिटीभन्दा १०१ किलोमिटर उत्तरतर्फ फेला पारेको थियो । उनकी आमा वेन्डी स्टेनले नाविका बन्ने क्रममा कुशिलाले लिएको ‘समुद्रमा कसरी बाँच्ने’ भन्ने प्रशिक्षणले उनको ज्यान बचाउन ठूलो भूमिका खेलेको हुनसक्ने बताएकी छिन् ।

कुशिला कसरी हराइन् समुद्रमा ?

कुशिलाले स्थानीय मिडियालाई बताए अनुसार उनी माइक नामका वेलायतीलाई उनको याट टर्कीबाट एथेन्ससम्म र्पुयाउन सहयोग गर्नका लागि समुद्रको यात्रामा थिइन् । समुद्रको अनवरत यात्राबाट एकछिन विश्राम लिन कुशिलाले याटमै भएको सानो डुंगा लिएर शुक्रबार फोलेगान्ड्रोस टापुतर्फ गएको उनकी आमाले बताइन् ।

तर, टापुबाट याटमा फर्किने क्रममा उनको डुंगा खियाउने बहना समुद्रमा खस्यो । बहना नभएपछि तेज समुद्रि हावाले उनको डुंगालाई समुद्रकोबीचतिर धकेल्यो । उनी याटमा नफर्किएपछि माइकले शनिबार बिहान ग्रीसका अधिकारीहरुलाई उनी बेपत्ता भएको रिपोर्ट गराए । ग्रीक कोस्ट गार्डले ६ वटा जहाज, एउटा हेलिकप्टर र पानी मुनि पौडिने ‘अन्डरवाटर ड्रोन’को सहयोगमा उनको खोजी तथा उद्धार अभियान सुरु गरेको बीबीसीले जनाएको छ ।

समुद्रमा एक्लै हावाको बेगमा बगिरहँदा कुशिलालाई आफू बाँच्दिन भन्ने डरले सताइरहन्थ्यो । त्यसैले, उनले आफु भएको सानो डुंगामा आफ्नी आमाको नाम र फोन नम्बरलगायतका विवरण लेखेर राखेकी थिइन् । ‘तर कोस्ट गार्डले आइतबार विहान क्रिटि र फोलेगान्ड्रोस टापुबीचबाट उनको उद्धार गर्न सफल भयो,’ उनकी आमाले भनिन् ।

उद्धारपछि कुशिलालाई अस्पताल लगेर ‘एक्सपोजर’ र ‘डिहाइड्रेसन’को परिक्षण गरिएको थियो । उद्धारपछि कुशिलाले आफ्नी आमालाई फोन गरेर ‘आमा, मसँग अझै एउटा मिठाई बाँकी नै छ !,’ भनेकी थिइन् ।

Featured