देश

कोरम नपुगेपछी संसदीय समितिका बैठक स्थगित

काठमाडौं, कात्तिक १९–आज (१९ कात्तिक मंगलबार) प्रतिनिधिसभाअन्तर्गतका दुई समितिले बैठक बोलाएको थियो । संसदको अर्थ समिति र राज्य व्यवस्था तथा सुशासन समितिले बिहान ११ बजेका लागि बैठक बोलाएका थिए । तर, दुवै समितिको बैठक बस्न सकेन । गणपूरक संख्या नपुगेपछि दुवै समितिको बैठक स्थगित भएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय निजामति सेवाको गठन, संचालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन सम्बन्धमा छलफल’ गर्न बैठक बोलाएको थियो । यस्तै, अर्थ समितिले ‘नागरिक लगानी कोष ऐन २०४७ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’ गर्न बैठक बोलाएको थियो ।

राज्य व्यवस्था तथा सुशासन समितिमा २६ सांसद सदस्य छन् । समिति सभापति शशी श्रेष्ठ हुन् । समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई पनि छलफलमा बोलाइएको थियो । मन्त्री पण्डित समिति बैठकमा सहभागी भए पनि सांसदको संख्या नपुगेपछि बैठक स्थगित गरियो ।

अर्थ समितिमा २५ सांसद छन् । तर, आजको बैठकमा ८ जना सांसद मात्रै उपस्थित थिए । गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको समितिले जानकारी गरायो । समिति बैठकमा सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी हुनुपर्छ । तोकिएको समयको सामान्यतः आधा घण्टासम्म ५० प्रतिशत सदस्य उपस्थित नभए समिति सभापतिले बैठक स्थगित भएको जानकारी गराउने प्रचलन छ ।

Featured