देश

जिल्ला अस्पताल खाँदबारीको अवरुद्ध प्रसूति सेवा सुचारु

संखुवासभा, कात्तिक १९–२४ घण्टे प्रसूति सेवा दिइरहेको जिल्ला अस्पताल खाँदबारीमा ११ दिनदेखि अवरुद्ध प्रसूति सेवा सुचारु भएको छ । सुरक्षित मातृत्व सेवाका चिकित्सक घर बिदामा बसेपछि उक्त सेवा अवरुद्ध भएको थियो । अवरुद्ध प्रसूति सेवा मंगलबारदेखि सुचारु भएको अस्पताल प्रशासनका कर्मचारी दिपेश श्रेष्ठले जानकारी दिए । सो अस्पतालमा २४ घण्टे प्रसूति सेवा सञ्चालनमा थियो ।

अस्पताल प्रशासनले एकै पटक दुवै चिकित्सकलाई बिदा दिएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको थियो । चिकित्सकको अभावमा सेवा अवरुद्ध भएपछि प्रसूति सेवा लिन आउने सेवाग्राही लाखौं खर्चेर अन्यत्र लैजान बाध्य भएका थिए । खाँदबारी जिल्ला अस्पतालमा दैनिक ५ जनाभन्दा बढीले प्रसूति सेवा लिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । सो अस्पतालमा निक साइमन नामक संस्थाले सुरक्षित मातृत्व सेवाका लागि दुई जना चिकित्सक उपलब्ध गराएको छ ।

Featured