देश

प्रचण्ड भन्छन्, ‘प्रदेश प्रमुख नियुक्तिमा माधव नेपालको असन्तुष्टि सामान्य हो’

बुटवल, कात्तिक १९–सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश प्रमुखहरुले नैतिकता नदेखाएकाले सरकारले हटाएको बताएका छन् । प्रदेश प्रमुखको कार्यकाल तीन वर्ष बाँकी छँदै सरकारले हटाएको भन्दै राजनीतिक र संवैधानिक प्रश्न उठेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष दाहालले सरकारी कदमको बचाउ गरेका हुन् ।

‘कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुले अर्को पार्टीको सरकार गठन भएपछि नैतिकताका आधारमा आफैं राजीनामा गर्नुपर्थ्यो,’ मंगलबार बाँकेको नेपालगञ्ज विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा दाहालले भने, ‘हाम्रो सरकार लचिलो थियो, त्यसैले दुई वर्षसम्म काम गर्न दियो ।’

माधव नेपालको असन्तुष्टि सामान्य
नयाँ प्रदेश प्रमुख नियुक्तलाई लिएर पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रकट गरेको असन्तुष्टिलाई दाहालले ‘सामान्य’ भनेका छन् । प्रदेश प्रमुख नियुक्तिको विषयमा माधव नेपाल सन्तुष्ट नरहेको कुरा आइरहेको छ नि भन्ने प्रश्नमा दाहालले भने, ‘नेपालजीले केही नाम प्रस्ताव गर्नुभएको थियो । तर, सचिवालय बैठकले उहाँले अघि सार्नुभएको नामलाई अनुमोदन गरेन, अर्कै निर्णय गर्यो, उहाँले पार्टीको निर्णय मन्दिनँ भन्नुभएको छैन ।’ नेपालले लिखित असमति जनाएको भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भने, ‘चित्त नबुझेपछि नोट अफ डिसेन्ट लेख्ने कुरा पनि सामान्य नै हो, स्वाभाविक प्रक्रिया हो ।’

Featured