विदेश

जलवायु सम्झौबाट बाहिरिन अमेरिकाले दियो राष्ट्रसंघलाई जानकारी

एजेन्सी, कात्तिक १९–अमेरिकाले जलवायु परिवर्तनसम्बन्धि पेरिस सम्झौताबाट बाहिरिने विषयमा संयुक्त राष्ट्रसंघलाई आधिकारिक रुपमा जानकारी गराएको छ । विश्वका १८८ देशले हस्ताक्षर गरेको सो सम्झौताबाट बाहिरिन अमेरिकालाई तत्काल प्रक्रिया सुरु गरेमा एक वर्ष लाग्नेछ।

गत महिना अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सम्झौताले आफ्नो देशमाथि अनुचित आर्थिक बोझ थपिएको बताएका थिए । सन् २०१८ मा इन्स्टिट्यूट अफ इन्टरनेशनल एन्ड युरोपियन अफेअर्सले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा अमेरिकी कदमले पेरिस सम्झौतामा ठूलो क्षति पुग्ने उल्लेख गरिएको छ ।

अमेरिकाको कदमले अन्य देशलाई समेत सम्झौताबाट अलग हुन नैतिक र राजनीतिक आड पुग्ने उनको अनुमान छ । सम्झौतामा हस्ताक्षर गरेर पनि अनुमोदन नगरेका रुस र टर्कीलाई त्यसको उदाहरणको रूपमा प्रस्तुत गरिएको छ।

ट्रम्पको नेतृत्वमा सम्झौताबाट बाहिरिने निर्णय गरिए सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा समेत यसले प्रभाव पार्न सक्नेछ । चुनावमा पराजित भएमा नयाँ राष्ट्रपतिले यस विषयमा फरक नीति अपनाउन सक्नेछन् ।

Featured