विदेश

हामीलाई न्याय चाहियो भन्दै प्रहरीहरू प्रदर्शनमा

काठमाडौं, कात्तिक १९–भारत दिल्लीको तीस हजारी अदालत परिसरमा प्रहरी र वकिलहरूबीच भएको हिंस्रक झडपलाई लिएर दुवै पक्ष विरोधमा छन् । मंगलबार दिल्लीका प्रहरी र तिनका परिवारजनले वकिहरूको विरोधमा प्रदर्शन गरेका छन् । उनीहरूको हातमा ‘सेभ त पुलिस’, ‘हामीलाई न्याय चहियो,’जस्ता नारासहितको प्लेकार्ड देख्न सकिन्छ ।

कमिश्नर अमूल्य पटनायकेले प्रहरीहरूलाई भनेका छन्, ‘यो हाम्रा लागि परीक्षा र प्रतिक्षाको घडी हो, हामीले कानुनको रक्षाका लागि काम गर्नुपर्छ ।’ २ नम्बरको तीस हजारी अदालतको घटनापछि सोमबार वकिलहरूले पनि हडताल र प्रदर्शन गरेका थिए । यस क्रममा कडकडडू र साकेट अदालत बाहिर वकिलहरूले प्रहरीलाई कुटपिट गरेका थिए । कुटपिट गरेको केही भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । दिल्ली पुलिसले हिंस्रक झडपको विषयमा गृह मन्त्रालयलाई रिपोर्ट बुझाएको दैनिक भास्करले जनाएको छ ।

तीस हजारी अदालतमा पार्किङ क्षेत्रमा प्रहरी र वकिलको गाडी ठोक्किएपछि विवाद सुरू भएको थियो । वकिलहरू लकअपमा प्रवेश गर्न खोजेका थिए । यसपछि हिंस्रक झडप भएको थियो र दुई वकिललाई गोली लागेको थियो । २० प्रहरी घाइते भएका थिए । दिल्ली उच्च अदालतले यो मामिलाको न्यायिक जाँच, दोषी प्रहरीलाई निलम्बन र घाइतेहरुको बयान दायर गर्न पुलिस कमिश्नरलाई निर्देशन दिएको थियो ।

Featured