देश विदेश

दिल्लीको वायु प्रदूषणको असर नेपालको तराईसम्म

काठमाडौं, कात्तिक १९–भारतको राजधानी नयाँ दिल्लीमा देखिएको विषाक्त हावाको प्रभाव नेपालमा समेत देखिएको छ । वातावरण विभागले भारतमा देखिएको प्रदुषणको असर नेपालमा समेत देखिएको भन्दै धुलोका साना कणबाट जोगाउने खालका मास्क लगाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

दिल्लीको प्रदुषणको असर काठमाडौं उपत्यकाभन्दा तराईका जिल्लाहरुमा बढी देखिएको विभागले जनाएको छ । प्रदूषण मापन गर्दा लुम्बिनी, सौराहा र नेपालगञ्जमा मापदण्डभन्दा बढी देखिएको विभागले जनाएको छ । राष्ट्रिय मापदण्डअनुसार पीएम २.५ भनिने सूक्ष्म कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताइन्छ।

हावाको गुणस्तर मापन गर्ने रियल टाइम एअर क्वालिटी इन्डेक्सका अनुसार कणको मात्रा लुम्बिनीमा १९८ माइक्रोग्राम प्रति घनमिटर छ भने सौराहामा ११५ माइक्रोग्राम प्रति घनमिटर र नेपालगञ्जमा १९४ माइक्रोग्राम प्रति घनमिटर रहेको छ। राजधानी काठमाडौंमा भने तराईका जिल्लाभन्दा तुलनात्मक रुपमा कम पाइएको छ । रत्नपार्कमा १३३ माइक्रोग्राम प्रति घनमिटर देखिएको विभागले उल्लेख गरेको छ । दिल्लीमा प्रदूषण औसत ८ सय माइक्रोग्राम प्रति घनमिटरभन्दा बढी पुगेको छ।

Featured