देश

ललितपुरमा खुल्यो चारतारे होटल स्तरको ‘यल दरबार’

ललितपुर, कात्तिक १८–ललितपुरको शंखमुलमा चारतारे होटल स्तरको ‘यल दरबार भेन्यु’ सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिका ९, गछेंटोलका पाँच युवा व्यवसायीले शंखमुल पुलनजिक प्राचीन मल्लकालीन दरबार शैलीको होटल खोलेका हुन् । ‘यल दरबार’को नेपाल अर्थ ‘पाटन दरबार’ हो ।

होटलमा फरक व्यवसायमा संलग्न युवा व्यवसायी रवि महर्जन, राकेश महर्जन, सुनिल महर्जन, विकास महर्जन र विनोद महर्जनको ६० प्रतिशत तथा गछेंटोलबासीको ४० प्रतिशत लगानी छ ।

मौलिक कला, संस्कृति र सम्पदाको संरक्षण समेत गर्ने उद्देश्यले खोलिएको यल दरबार सम्पदा र संस्कृतिप्रेमीका लागि विशेष आकर्षण बन्ने सञ्चालकहरुको विश्वास छ । होटलको औपचारिक उद्घाटन माघमा गर्ने तयारी भए पनि कात्तिक २९ देखि सञ्चालनमा आउनेछ ।

होटलमा एक पटकमा दुई हजारसम्म अतिथि अटाउन सक्ने मुख्य हल र तीनवटा सेमिनार हल छन् भने नेवारी सुकुल भोजको समेत व्यवस्था छ । त्यस्तै एक सय ५० वटा सम्म गाडी पार्किङ गर्न सकिने पार्किङ स्थल, केटाकेटीका लागि खेलमैदान, अपांग र जेष्ठ नागरिकका लागि विद्युतीय र्भयाङ (स्केलेटेर) को व्यवस्था गरिएको प्रबन्ध निर्देशक सुनिल महर्जनले जानकारी दिए । होटल करिब १० रोपनीमा फैलिएको छ । यल दरबार भेन्यु सञ्चालनमा आएपछि यसबाट प्राप्त हुने कुल नाफाको एक प्रतिशत भैपरी आउने र सामाजिक कार्यमा खर्च गरिने उनले बताए ।

Featured