देश राजनीति

पदमुक्त हुँदा कुनै दुःख लागेको छैन : निवर्तमान गण्डकी प्रदेश प्रमुख

पोखरा, कात्तिक १८–गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सरकार अझै पनि स्वायत्त हुन नसकेकोमा गुनासो गरेका छन् । पदमुक्त भएको भोलिपल्ट सोमबार एक भेटघाट कार्यक्रममा बोल्दै कुँवरले सञ्चालनको डेढ वर्ष पूरा हुँदा पनि प्रदेश सरकार स्वायत्त हुन नसकेको बताए ।

संघीय सरकारबाट प्रदेश सरकारमाथि लगाम लगाउने प्रयास भएको आशय व्यक्त गर्दै उनले यस्तो शैलीबाट संघीयता प्रस्फुटित र सुवासित हुन नसक्ने बताए । स्वायत्तताविना प्रदेशको उन्नति नहुने उनको भनाइ थियो । ‘मेरो मनको कुरा मनमै रह्यो । मैले एक किसिमको त्यो कुरा बोकेर जानुपर्ने नै भयो । मेरो मनमा म बाँचुन्जेल मैले त यो कुरा अनुभूत गर्नु परिरहन्छ । संघीयतामा प्रदेश स्वयत्त भएको हेर्ने मेरो सपना पदमुक्त भएसँगै अधुरै रह्यो,’ उनले भने ।

संवैधानिक व्यवस्थाअनुसार आफूसहित अन्य प्रदेश प्रमुखको नियुक्ति हुनु स्वभाविक भएको बताउँदै उनले अब नियुक्त हुने नयाँ प्रदेश प्रमुखलाई कार्यकाल सफलताको शुभकामना दिए । आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद र आभार व्यक्त गर्दै उनले आफ्नो बाँकी काम पूरा गर्न नयाँ प्रदेश प्रमुखलाई उनले आग्रह गरे । उनलाई प्रदेशका मन्त्री, सांसद, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायतले खादा लगाएर बिदाई गरेका थिए ।

Featured