साहित्य

रूसमा बालकृष्ण समको साहित्यिक छवि (कृष्णप्रकाश श्रेष्ठ)

मैले रूसमा अध्ययनार्थ आउनुभन्दा पहिले नै काठमाडौंमा नेपालका एक मुर्धन्य विद्वान् कवि, नाटककार, चित्रकार, दार्शनिक बालकृष्ण समको कैयौपल्ट दर्शन पाएको थिएँ । लैनचहुरस्थित शान्तिविद्यागृहमा पढ्दाखेरि म पकनाजोल (साउनेपाटी) मा बसेको थिएँ । म बसेको घरको झ्यालमुन्तिरैबाट काठमाडौंमा त्यतिखेर भएको एक मात्र दुर्इजनाले चलाउने साइकलमा पछिल्तिर एकजना पेडाल चलाएर बसेको मान्छेसहित अगिल्तिर सवार भई अघिल्लो पेडाल समेत चलाएर खास नेपाली पोशाकको माथिल्लो मोटो तनो बान्की पारेर बाँधिएको लबेदा-सुरुवाल लगाएका बालकृष्ण सम खुरुरुरु गुडेर जाने गरेको कैयौंपल्ट देख्ता निकै रमाइलो लाग्दथ्यो । एकपल्ट तीनधारा पाकशालानेर एउटा कविसम्मेलन हो कि अरु नै कुनै आमसभा हो त्यसमा भाग लिन संगसंगै हिंडेर आएका वयोबृद्ध कविशिरोमणि लेखनाथ पौड्याल र नाटककार बालकृष्ण समलाई आफ्नै बगलबाट जाँदै गरेको देख्ने समेत मौका मिलेको थियो । स्कूलमा र पछि त्रिचन्द्र कलेजमा अध्ययन गर्दा समेत उनका कृतिहरू पढिएको र उनको बारेमा काठमाडौंमा हुने चर्चा सुनेको भए तापनि प्रत्यक्ष कुराकानी गर्ने त आँट नै भएन । मैले नेपालका अन्य कतिपय लेखककविहरूलाई जस्तै मास्कोमा पनि उनलाई भेट्ने सम्भावना पाइनँ, यद्यपि रूसमा आएपछि रसियालीहरूद्वारा उनको बारेमा खिंचिएको वृत्तचित्र भने मास्कोको सिनेमा हलमा हेर्ने सौभाग्य पाएको थिएँ । जे होस्, उनको साहित्यिक कृतित्वको रसास्वादन गर्नुका साथै उनको सौम्य वाह्य छवि पनि मेरो मानसपटलमा कहिल्यै नमेटिने गरी अंकित भएको छ । 

आजभन्दा ठीक ६५ वर्षपहिले सन् १९५३ मै रूस (तत्कालीन सोभियत संघ) को राजधानी मास्को पुग्ने पहिला तीनजना लब्धप्रतिष्ठ नेपाली साहित्यस्रष्टाहरूमध्ये बालकृष्ण सम पनि एकजना थिए । त्यसै साल रुमानियामा सम्पन्न भएको चतुर्थ विश्व युवा सम्मेलनमा भाग लिन पूर्णबहादुर एम.ए.को नेतृत्वमा आएको १०-सदस्यीय प्रतिनिधिमण्डलमा बालकृष्ण समका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ पनि समाविष्ट थिए । बुखारेष्टमा सम्पन्न भएको सम्मेलनमा भाग लिने क्रममा सोभियत रूसको राजधानी पुगेका र ९ देखि १२ सेप्टेम्बरसम्म तीन-चार दिन मास्कोमा घुम्ने सम्भावना पाएका लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठ प्रभृतिको कलमबाट निसृत कविताको चिनो रूसमा पाइएको छैन, यद्धपि निसन्देह नै हाम्रा कविहरूको कलमबाट कुने गद्यात्मक वा कवितात्मक कृति अवश्य निसृत भएको हुनुपर्दछ । लक्ष्मीप्रसाद देवकोटाले त त्यतिखेर डायरी नै लेख्ने जमर्को गरेको पाइएको छ । बालकृष्ण समले चाहिं त्यतिखेर नै मास्कोमा आफ्नो चिनो छोडेर गएको पत्ता लागेको छ । रूसको बसाइँकालमा उनले उक्त विश्व-सम्मेलनको सन्दर्भमा मास्कोमा रचना गरेको कविता ‘मेरो मन उड्छ बुखारेष्टतिर’ भन्ने शीर्षकमा त्यसै वेला रूसी भाषामा अनुवाद भई ‘अक्टोबर’ (र्इ.सं. १९५३, ठेली १२, पृ. ४) साहित्यिक पत्रिकामा छापिएको थियो । त्यसै समयमा यो कविता मास्कोमा लेखिएको थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । मास्कोमा प्रथम प्रकाशनको ४ वर्षपछि पुनः त्यही कविता राजकीय ललितसाहित्य प्रकाशनगृहबाट ‘एशियाली कविहरू’ शीर्षकमा प्रकाशमा ल्याइएको कवितासंग्रह  (र्इ.सं. १९५७, पृ. ७२४-७२५) मा पनि समावेश गरिएको थियो । त्यतिञ्जेलसम्म रूसी भाषामा प्रकाशित नेपाली कविता यही एउटै मात्र थियो भन्ने यस तथ्यबाट पनि छर्लङ्ग हुन्छ । केही वर्षअघि यसै पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) द्वारा रूसी भाषाबाट नेपालीमा अनूदित त्यो कविता आज म नेपाली पाठकसमक्ष प्रस्तुत गर्न गइरहेको छु । तल प्रस्तुत त्यस कवितामा यस्ता पंक्तिहरू छन् :

नेपालबाट, पुर्खाको सुदूर देशबाट त्यो,
टाढाको नगरीतर्फ निकै चहलपूर्णको
बुखारेष्टतिरै मेरो मन उडेर जान्छ यो
अनि उत्सवमा भाग लिन्छ नेपालबाट यो ।।
मञ्चमा उभिई गीत त्यहाँ गाउँछ यो मन,
नाट्य-प्रासादमा नाच्दै गर्छ क्यै क्षण रञ्जन,
अनि पौडी पनि खेल्छ त्यहाँ कृत्रिम तालमा,
युवाहरूसँगै चाल्छ पाइला पनि लाममा ।।
मेरो यो मनले खोल्छ रहस्य अब भित्रकै :
आत्मीय प्रेमको नापतौल सम्भव छैन है !!
र प्रेम गर्नुको अर्थ – सिर्जना गर्नु नै त हो,
सुखी जीवनमा आस्था भित्री हृदयदेखिको ।।
अनि तात्पर्य के होला मैत्री सम्बन्ध जोड्नुको –
सम्पूर्ण जातिको निम्ति सुखको द्वार खोल्नु हो ।।
तात्पर्य हो – दुःखदैन्यहरूबाट बचाउनू !
दुःखमा दिलको निम्ति दिल नै प्रेमले दिनू !!
र आफ्नो मित्रका साथ मिलेर अघि लम्कनू,
सम्पूर्ण लोकको निम्ति उज्यालो दिन ल्याउनू !!
अहिले मनले मेरो चाहन्छ भन्न वाक्य यो :
“युगानुयुगसम्मै होस् रक्षा शान्ति र मैत्रीको!!

(अनु. कृष्णप्रकाश श्रेष्ठ, १३.०१.२०१४, मास्को, रूस महासंघ)
(बालकृष्ण सम, मेरो मन उड्छ बुखारेष्टतिर (कविता) ।।अक्टोबर, खण्ड १२, र्इ.सं.१९५३, पृ. ४ तथा एशियाली कविहरू (कवितासंग्रह), राजकीय ललितसाहित्य प्रकाशनगृह, मास्को, र्इ.सं. १९५७, पृ. ७२४-७२५)  

बालकृष्ण समले बुखारेष्टको यात्रापछि पनि सोभियत संघको यात्राभ्रमण गरेका थिए । सन् १९६० को दशकमा म अध्ययनका लागि मास्को आउँदा यहाँका सिनेमाहलहरुमा मूल फिल्मको प्रदर्शनपूर्व देखाइने टेलर भनिने वृत्तचित्रको रुपमा बालकृष्ण समको रूस यात्राबारे छोटो फिल्म देखाइएको मैले पनि हेर्ने अवसर पाएको थिएँ । यस्तै रूसयात्राको क्रममा उनले ‘लेनिन समाधिनेर चिन्तन’ शीर्षकमा लेखिएको कविताको रूसी अनुवाद ताशकन्द (उज्बेकिस्तानको राजधानी) बाट प्रकाशित ‘भ्ला.इ.लेनिनप्रति समर्पित ‘एशिया र अफ्रिकाका कविहरूका कविता’ (र्इ.सं. १९७०, पृ. १०६-१०८) भन्ने संग्रहमा प्रकाशित भएको छ । नेपालीमा ‘विश्वमानव लेनिन’ शीर्षकको उक्त कविता तल प्रस्तुत छ :

हेर !
एक ज्योति
चम्किलो भएर सुतिरहेछ
निश्चल,
तर यसका किरणहरू फैलिरहेछन्
विस्तिर्ण भएर !..
…लेनिन,
सत्यतासितै रहू !
तिमी –
निराशहरूका आशा थियौ,
निस्सहायहरूका सहायक,
निर्वल टुहुराहरूका पिता,
सहनशीलहरूका शक्ति,
मूकहरूका वचन तथा बहिराहरूका कान,
ऐश्वर्यले उन्मत्त भएका अन्धाहरूका नयन !
तिमी –
पददलितहरूका उद्धारक,
दरिद्र निमित्तका दानस्वरूप तिमीले
प्रत्येक वञ्चितका लागि द्वार खोल्यौ !..
लेनिन !
तिम्रो दृष्टि स्वच्छ थियो…
निर्मल आकाशजस्तै,
तसर्थ माथिका स्वर्गले तिमीलाई छल्न सकेनन्
आकर्षित गर्न सकेनन्,
किनभने तिम्रो विश्वास थियो
वास्तविकतामा ।
ताराहरूले सान गरेको उज्यालोको
तिमीले वास्ता गरेनौ,
कल्पनाहरू
रचनाहरू गरेर
परलोकको
सपना देखेनौ,
पुराना दन्त्यकथाहरूमा पनि
तिमीले ध्यान दिएनौ ।
तिमीले प्रेम गर्‍यौ
यही खँदिली खँदिली
पृथ्वी मातालाई,
त्यसैले तिमीलाई विश्राम गर्न आफ्नो काख दिइन्
अनि तिमी पनि
अन्त कतै जान मरेनौ !..
तिमी शतवाषिर्की दीप ज्योति हौ

त्यो विशाल गौरवान्वित चिहानमा
सदैव बलिरहने
जहाँ तिमीसित सास फेर्न र सहानुभव गर्न
प्रतिदिन धैरै जीवन जम्मा हुन्छन्,
त्यसैले तिमीलाई लिएर जान
मृत्यु त्यहाँ कहिल्यै छिर्न सक्तैन ।।

(बालकृष्ण सम. लेनिन-समाधिनिरको चिन्तन (राज्मिश्लेनिया उ माब्जोलेया) 
।।सूर्यको अभिवादन (एशिया र अफ्रिकाका कविहरूको लेनिनप्रति समर्पित कविता). ताशकन्द, र्इ.सं. १९७०. पृ. १०६-१०८)     

यसै वर्ष २१ जनवरीका दिन अक्टोबर समाजवादी क्रान्ति (हाल रूसमा राजनैतिक परिवर्तन भन्न थालिएको छ) का नेता र सोभियत संघका संस्थापकको देहान्त भएको पनि ९५ वर्ष पूरा भयो, तर मास्कोको मुटु क्रेमलिनको पर्खालकै हाराहारी फैलिएको लालमैदानमा रातो सिंगमर्मरबाट बनेको भव्य समाधिगृहमा उनको शव अद्यापि सुरक्षित राखिएको छ र देशविदेशका पर्यटकहरू लाम लागेर त्यसको अवलोकन गर्दछन् । स्मरण रहोस्, लेनिनबाट बालकृष्ण सम निकै प्रभावित थिए भन्ने बुझिन्छ । मैले उनको कूचीबाट निसृत लेनिनको मुहारचित्र मास्को लालमैदाननेरै रहेको लेनिन संग्रहालयमा तीन दशकभन्दा केही पहिले सोभियत कालमै हेर्ने मौका पाएको थिएँ र यस चित्रबारे मेरो एउटा लेख समेत ‘सोभियत भूमि’ मा प्रकाशित भएको थियो । हाल लेनिनसंग्रहालयको विशाल भवन पनि लालमैदानमै अवस्थित इतिहाससम्बन्धी भव्य संग्रहालयमा समाविष्ट गरिएको छ ।

रूसमा पनि कविको रूपमा बालकृष्ण सम केही हदसम्म परिचित छन् भन्न सकिन्छ र रूसी भाषामा उनका यस आलेखमा प्रस्तुत उपरोक्त दुर्इ कविताका अतिरिक्त सोभियत कालमा प्रकाशित नेपाली काव्यका दुर्इ संग्रहमध्ये ‘नेपालका कविहरू’ (ताशकन्द, सन् १९५८) शीर्षकको पहिलो संग्रहमा ‘यस्तो जीवन’ (पृ. ३३-३४) र ‘काव्य र चित्र’  (पृ. ३५-३६) शिर्षकका दुर्इ कविता तथा ‘नेपाली कविका कविताहरू’ (मास्को, सन् १९६२) शीर्षकको दोस्रो संग्रहमा ‘स्वागत छ’ (पृ. ८०-८१), ‘तिमी जिउँदै छ्यौ’ (पृ. ८१-८३), ‘तथास्तु’ (पृ. ८३-८६) र ‘म मान्छेलाई माया गर्छु (पृ. ८६-८७) शीर्षकका चार कविता मात्र प्रकाशित छन् । विश्वकै एक सम्पन्न भाषा मानिने र संयुक्त राष्ट्रसंघको पाँचमध्ये एक औपचारिक माध्यम भाषा रहेको रूसी भाषामा बालकृष्ण समजस्ता विख्यात कविको व्यापक कृतित्वको नगण्य मात्र अनुवाद प्रकाशित हुनु दुःखद कुरा हो । यद्यपि रूसी भाषामा नेपाली साहित्यको संक्षिप्त परिचय दिने र समालोचनात्मक अध्ययन प्रस्तुत गरिने केही पुस्तकहरूमा बालकृष्ण समको कृतित्वको उच्च मूल्याङ्कन गरिएको पाइन्छ । सोभियत संघ (रूस) मा नेपाली साहित्यकी अध्येता विदुषी ल्युदमिला आगानिनाले ‘आधुनिक नेपाली काव्यमा मान्छे, समाज, धर्म’ (मास्को, र्इं.सं. १९८५) शीर्षकको  आफ्नो अन्तिम र प्रौढ समालोचनात्मक ग्रन्थमा बालकृष्ण सम (र्इं.सं. १९०३-१९८०) र लक्ष्मीप्रसाद देवकोटा (र्इ.सं. १९०९-१९५९) को कृतित्वको तुलना गर्दै यी दुर्इ कविलाई ‘साहित्य सिर्जना र शैलीको दृष्टिले एक दोस्राका विषम ध्रुव’ भन्दै बालकृष्ण समको कृतित्वको सन्दर्भमा अंशतः यस्तो निष्कर्षोक्ति व्यक्त गरेकी छन् : ‘समका लागि काव्य विवेकसम्मत (मुख्यतः दार्शनिक) हुनुका साथै वास्तविकताको लाक्षणिक चित्रण पनि हो । तसर्थ उनको काव्यलाई सवाक् चिन्तन भन्न सकिन्छ होला । त्यसको प्रमुख उद्देश्य भन्नु नै आफ्नो धारणाको सत्यताप्रति तार्किक विश्वास उत्पन्न गर्नु हो । अतीतको काव्यशास्त्रप्रति उनको सम्मानपूर्ण सम्बन्ध पनि यसैसित सम्बन्धित छ, यद्यपि उनलाई अन्ततोगत्वा स्वच्छन्द कवितातर्फ पूर्ण रूपले संलग्न हुनमा पनि यसले कुनै वाधा उत्पन्न गरेन…’ (पृ. ७) ।  

निष्कर्षमा के भन्न सकिन्छ भने नेपालका एक साहित्यिक हस्तीको रूपमा रहेका बालकृष्ण समको बहुआयामिक छवि रूसमा पनि ज्वाजल्यमान नै रहेको छ । रूसी लगायत विश्वका विभिन्न प्रमुख भाषाहरूमा उनका केही प्रतिनिधि कृतिहरूको अनुवाद गरेर उनको छविलाई विश्वव्यापी रूपमा चहकिलो पार्दै लैजानु हामी सबै नेपालीहरूको दायित्व हो । 

 दिनाङ्क : ३० जून २०१९ (आइतवार)

मस्को, रूस महासंघ ।   

Featured