देश

पूर्वसभामुख महरा पुर्पक्षका लागि जेल चलान

काठमाडौं, कात्तिक १८–संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको अभियोगमा पूर्वसभामुख कृष्णबहादुुर महरा पुर्पक्षका लागि जेल चलान भएका छन् । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई मुद्दाको अन्तिम सुनुवाइ नसकिएसम्मका लागि थुनामा राख्न आदेश दिएको हो ।

बन्द इजलाशमा भएको थुनछेक बहसमा महराका वकिलहरूले बहस गरेका थिए । महराका तर्फबाट वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, लवप्रसाद मैनाली, भोजराज आचार्य, सविता भण्डारी र कृष्णप्रसाद सापकोटाले बहस गरेका हुन् । बहसमा पीडित भनिएकी रोशनी शाही पनि उपस्थित थिइन् । महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्ने उजुरी प्रहरीमा आफैंले दिएको कुरा उनले बहसका क्रममा बताएकी थिइन् ।

थुनछेक बहसको केही बेरमै अदालतले महरालाई थुनामा राख्न आदेश दिएको हो । ’सभामुखको पदमा आसिन यी प्रतिवादीले आफ्नो पदको दुरूपयोग गरी असोज १२ गते सरकारले उपलब्ध गराएका वरिष्ठ जिम्मेवार सुरक्षाकर्मीहरूलाई निवासबाट बाहिरिँदा सो कुराको यकिन जानकारी नदिइ आफ्नो हैसियतको कुनै हेक्का नराखी, राज्य र आमनागरिकमा पर्ने असरलाई ख्याल नगरी सो संवेदनशीलताप्रति वेवास्ता गरी केही सुरक्षाकर्मीमात्र लिएर साँझ मादकपदार्थ (रक्सी) सेवन गरी साथमा मादकपदार्थ लिइ पीडित एक्लै रहेको निज डेरारकोठामा गई निजलाई जबरजस्ती मादकपदार्थ सेवन गर्न कर लगाइरगराइ अनुचित प्रभावमा पारी पीडितलाई जबरजस्ती करणी गर्न खोजेको अवस्थामा पीडितले प्रतिकार गर्दा निजलाई कुटपिट समेत गरी घाइते बनाइ जबरजस्ती करणी उद्योगको कसूर गरेकाले,’ अभियोगपत्रमा भनिएको छ, ’सम्माननीय सभामुखको गरिमामय पदमा आसिन यी प्रतिवादीले आफ्नो पदको दुरूपयोग गरी मुलुकी अपराध संहिता २०७४को दफा २१९ को उपदफा १ र २ र सोही संहिताको दफा ३४ बमोजिम जबरजस्ती करणी उद्योगको कसूर प्रमाणित हुन आयो।’

अभियोगपत्रमा सभामुखको हैसियतमा रहेका व्यक्तिले कसूर गर्दा कसूरको गम्भीरता बढेको पनि उल्लेख छ। ’मुलुकी अपराध संहिता २०७४ को दफा ३८ को देहाय (घ) बमोजिम कसूरको गम्भीरता बढाउने अवस्थाको भएको’ भन्दै जबरजस्ती करणी उद्योगमा हुने सजायको डेढी सजाय हुने माग दाबी सरकारी वकिलको छ।

Featured