देश मनोरंजन

‘सप्तरंग–२’ को भव्य तयारी, ७ प्रदेशका ७ सहरमा आयोजना हुने

काठमाडौं, कात्तिक १८–‘सप्तरंग सिजन २’ यसै कात्तिक २० गते विर्तामोडबाट सुरु हुने भएको छ । २० कात्तिकमा विर्तामोडबाट सुरु हुने कार्यक्रम ४ मंसिरमा पोखरामा पुगेर सकिनेछ । अहिले कार्यक्रमको भव्य तयारी भइरहेको आयोजक गृष्मा ब्रोडकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले बताएका छन् । कार्यक्रमले नेपाल सरकारको भिजिट नेपाल २०२० अभियानलाई समेत प्रवर्द्धन गर्ने घिमिरेले विश्वास व्यक्त गरे ।

यसपटकको सप्तरंग यात्रामा नायक राजेश हमाल, गायक सुगम पोखरेल, हाँस्य कलाकार जीतु नेपाल, गायिका मेलिना राई, गायक हिमाल सागर, प्रकाश सपुत र रवि ओड हुनेछन् । दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगीतिक यात्राको माध्यमबाट पर्यटकिय स्थलको प्रवर्द्धन तथा सम्भावनाको खोजी गरिने कार्यक्रममा जानकारी गराइएको थियो । विर्तामोडबाट सुरु हुने कार्यक्रम २२ गते विरगंज, २४ गते चितवन, २६ गते नेपालगंज, २८ गते सुर्खेत, ३० गते महेन्द्रनगर र ४ गते पोखरामा पुगेर सकिनेछ ।

काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नायक राजेश हमालले सप्तरंग कार्यक्रमको विशेष महत्त्व रहेको बताएका छन् । नायक हमालले भने, ‘अप्रत्यक्ष रुपमा दर्शकमाझ पुगिरहेका हामी यसपटक भने प्रत्यक्ष रुपमा दर्शकसँग पुग्दैछौं, यो एकदमै खुशीको कुरा हो । यो कार्यक्रमले हामीमा भएको विविधतालाई सम्मान गर्ने र हामीलाई मजबुत बनाउने काम गर्नेछ ।’

Featured