देश

धनगढी बसपार्कमा बिचौलियाको बिगबिगी

धनगढी, कात्तिक १८–दसैं तिहार मनाउन घर फर्किएका सुदूरपश्चिमेलीहरू कर्मथलो फर्किन थालेका छन् । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट गन्तव्यतर्फ फर्किन प्रदेश राजधानी धनगढी पुगेका यात्रुहरू टिकट नै नपाएर समस्यामा परेका छन् । धनगढीबाट पोखरा र काठमाडौंका लागि दैनिक हजारौंको संख्यामा यात्रुहरू धनगढी बसपार्क पुगे पनि टिकट नपाउँदा अलपत्र अवस्थामा छन् । यातायात व्यवसायीहरूले भने यात्रुको चाप बढी भएका कारण टिकट वितरणमा समस्या रहेको बताएका छन् । सोमबार कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाबाट कर्मथलो फर्किन धनगढी बसपार्कमा पुगेका यात्रुहरूले टिकट नपाएपछि यातायात व्यवसायी र यात्रुबीच केही बेर विवादसमेत चल्यो ।

दसैं तिहार मनाएर घरबाट फर्किन लागेका यात्रुहरूले टिकट नै नपाइरहेको गुनासो गरिरहेका थिए । यातायात प्रालिका काउन्टरमा दिनहुँ धाउँदा पनि टिकट पाउन नसकेको धनगढीबाट काठमाडांैका लागि टिकट खोजिरहेका मानबहादुर खड्काले गुनासो गरे । ‘यातायात व्यवसायीहरूले टिकट छैन भन्दै फर्काउने गर्छन्,’ उनले भने, ‘बसपार्कमै भेटिने गरेका बिचौलियाहरूबाट भने महँगोमा टिकट पाइन्छ ।’

यति मात्र होइन, बस व्यवसायीले टिकट लुकाएर महँगोमा बिक्री गरिरहेको यात्रुहरूको आरोप छ । कर्मथलो फर्किन घरबाट धनगढी बसपार्क पुगेकाहरू टिकट नै नपाएपछि समस्यामा परेको बसपार्कमा भेटिएका यात्रु सुरज श्रेष्ठले बताए । टिकटको कालोबजारीमा बिचौलिया सक्रिय रहेको उनको आरोप छ ।

तर, यातायात व्यवसायीहरूको भने टिकटमा कालोबजारी नभएको दाबी छ । दसैं तिहारलगायतका चाडपर्व मनाउन ठूलो संख्यामा घर फर्किएकाहरू अहिले आफ्नो कर्मथलोतर्फ फर्किन थालेकाले यात्रुको निकै चाप बढेको छ । त्यसले गर्दा नै टिकट अभाव भएको यातायात व्यवसायीको तर्क छ ।

समस्या समाधानका लागि बस थप्ने तयारी भइरहेको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए । यातायात प्रालिहरूले दिनहुँ दर्जनौं गाडीहरू पूर्वी रूटमा सञ्चालन भइरहेको दाबी गरे पनि यात्रुहरूले भने डेढ सातापछिको टिकटसम्म नपाइरहेको गुनासो गरेका छन् । यसले पनि धनगढी बसपार्कमा बिचौलिया सक्रिय रहेको पुष्टि हुन्छ । यातायात व्यवसायी र बिचौलियाहरूले मुनाफा कमाउन यात्रुबाट रकम असुलिरहेका छन् ।

Featured