खेलकुद देश

एमसीसीविरुद्ध नेपाल पाँच विकेटले विजयी

काठमाडौं, कात्तिक १८–नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकै पुरानो क्रिकेट क्लब मेरिलिबन क्रिकेट क्लब (एमसीसी)सँगको मैत्रीपूर्ण एक दिवसीय खेलमा पाँच विकेटको जित हात पारेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले दिएको २०२ रनको सामान्य लक्ष्य नेपालले ३७ ओभर ३ बलमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

प्रतियोगितामा विनोद भण्डारीले अभिजित ५२ रन बनाए । त्यस्तै पवन सर्राफले ३८, दिपेन्द्रसिंह ऐरीले २४ तथा आरिफ शेखले २३ रन बनाए । पहिला ब्याटिङ गरेको एमसीसी ४९.३ ओभरमा २०१ रनमा अल आउट भएको थियो । पवन सर्राफ र ललितनारायण राजवंशीले ४र४ विकेट लिए । पारस खड्का, सन्दिप लामिछाने र सोमपाल कामी नेपाली टोलीमा थिएनन् । यससँगै ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले पहिलो अन्तर्रा्ष्ट्रिय खेलमा जित हात पारेको छ ।

आइतबार भएको पहिलो मैत्रीपूर्ण खेलमा एमसीसीले नेपालको यू–१९ राष्ट्रिय टोलीलाई ३८ रनले हराएको थियो । एमसीसीले अब नेपालको सिनियर राष्ट्रिय टोलीसँग तीन दिवसीय स्वरुपको प्रथम श्रेणी क्रिकेट खेल्नेछ ।

Featured