देश विदेश साहित्य

कोलम्बोमा अशोकको ‘श्रीलंका स्मृति’

काठमाडौं, कात्तिक १८–पत्रकार अशोक सिलवालको पुस्तक ‘श्रीलंका स्मृति’ श्रीलंकाको आर्थिक राजधानी कोलम्बोमा सार्वजनिक गरिएको छ । श्रीलंका संसदका सभामुख कारु जयासूर्या, श्रीलंका प्रेस एसोसिएसन (एसएलपीए)को अध्यक्ष मुदिता कारियाकार्वाना र इन्डियन फेडरेसन अफ वर्किङ जर्ना्लिस्ट (आईएफडब्ल्यूजे)का अध्यक्ष बीभी मल्ल्किार्जुनाले सिलवालको पुस्तक संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

लाङटाङ सद्भावना दूतसमेत रहेका सिलवालको पुस्तक श्रीलंका यात्रामा केन्द्रित छ । ‘एक साताको श्रीलंका यात्रा मात्र होइन, त्यहाँ जानुपूर्वको तयारी, त्यहाँ पुग्दासम्मका अनेक भोगाइ, यात्रामा भेटिएका अनेक मानिस, संस्कृति र जीवनशैलीसँग जोडिएका मसिना सम्झनाहरूको संग्रह हो यो पुस्तक’, सिलवालले भने, ‘यो पुस्तक श्रीलंका परिचय होइन तर मैले चिनेको श्रीलंका भने पक्कै हो, जहाँ नेपालका जस्तै पहाडी बस्तीहरू थिए । वुद्धका अनुयायीहरू थिए ।

नेपालजस्तै राजनीतिको एउटा संक्रमण पार गरेर अर्को चरणमा प्रवेश गरेको स्थिति थियो । छिमेकी भारत थियो । चियाका बगानहरू थिए । मोहक तालहरू थिए । हरियाली थियो ।’ पुस्तकले दुई देशबीच अझ आत्मीयता थप्ने विश्वास पनि उनले व्यक्त गरे । ‘सगरमाथाको देशबाट सागरको देश र भुपरिवेष्ठित देशबाट समुन्द्रवेष्ठित देश गएको एउटा अन्वेषी यात्रुको कथा हो यो’, आईएफडब्ल्यूजेकी विदेश सचिव गितिका तालुकदारले पुस्तकमाथि टिप्पणी गरिन् ।

नेपाल पर्यटन बोर्डको तर्फबाट नेपाल भ्रमण वर्ष २०२० को निम्तोसमेत लिएर श्रीलंका पुगेका सिलवालले बुद्ध जन्मेको देश नेपाल र बुद्धप्रेमी देश श्रीलंकाबीचको हार्दिक सम्बन्धलाई पर्यटनमार्फत अझ बलियो बनाउन सकिने बताए ।

Featured