विदेश

कर्मचारीसँग प्रेम सम्बन्धमा रहेका म्याक्डोनाल्ड्सका सीईओ पदमुक्त

एजेन्सी, कात्तिक १८–म्याक्डोनाल्ड्सका प्रमुख कार्यकारी स्टीभ इस्टरब्रुकलाई कर्मचारीसँग ‘डेटिङ’ गरेको आरोपमा पदबाट बर्खास्त गरिएको छ । अमेरिकी प्रसिद्ध रेस्टुराँको सञ्जालले दुई जनाबीचको सम्बन्ध सहमतिमा आधारित भए पनि इस्टरब्रुकले ‘कम्पनीको नीति उल्लंघन गरेका’ र ‘कमजोर निर्णय क्षमता देखाएको’ भन्दै पदबाट बर्खास्त गरिएको जनाएको छ ।

एउटा इमेलमा ब्रिटिश नागरिक इस्टरब्रुकले ती महिला कर्मचारीसँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार गर्दै आफूले गल्ती गरेको बताएका छन् । श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेका ५२ वर्षीय इस्टरब्रुकले सीईओको पद सम्हाल्नुअघि पहिलो पटक सन् १९९३ मा लन्डनमा म्याक्डोनाल्ड्सको व्यवस्थापकका रूपमा काम गरेका थिए ।

सन् २०११ मा उनले म्याक्डोनाल्ड्स छोडेर पिज्जा एक्स्प्रेस र त्यसपछि सन् २०१३ मा म्याकडोनाल्ड्समा फेरि फर्कनुअघि खानासम्बन्धी एशियाली सञ्जाल वागामामाका प्रमुख भए । सन् २०१५ मा उनी म्याक्डोनाल्ड्सको सीईओमा नियुक्त भएका थिए । म्याक्डोनाल्ड्सका मेन्यू तथा रेस्टुराँमार्फत् कम्पनीलाई उच्च फाइदा दिलाएको श्रेय उनलाई दिने गरिन्छ । उनको कार्यकालमा कम्पनीको शेयर मूल्य दुई गुणाले बढेको थियो ।

Featured