देश

दाङमा वलीकी पत्नी नेकपाकी उम्मेदवार

बुटवल, कात्तिक १८–दाङ क्षेत्र नम्बर ३ प्रदेशसभा ‘ख’ को उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विमला वलीलाई उम्मेदवार तोकेको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

दाङ क्षेत्र नम्बर ३ प्रदेशसभा ‘ख’ का सांसद उत्तरकुमार वलीको दुर्घटनामा निधन भएपछि उनको पद रिक्त भएको हो । सो पदमा नेकपाले उम्मेदवार तोकेको विमला वली स्व. वलीकी धर्मपत्नी हुन् ।

नेपाली कांग्रेसका वुद्धिराम भण्डारीलाई करिब ७ हजार मतान्तरले पराजित गरेका स्व. वली पश्चिम दाङमा विकास प्रेमी नेताका रूपमा परिचित थिए । आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

नेकपा दाङले उपनिर्वाचनका लागि विमला वली, चूर्णबहादुर वली र शोभाराम बस्नेतको नाम सिफारिस गरेको थियो । उम्मेदवारको टुंगो लगाएसँगै उपनिर्वाचनको तयारीमा लागिसकेको नेकपा दाङ जिल्ला कमिटिका अध्यक्ष टिकाराम खड्काले जानकारी दिए ।

Featured