देश

मानवनिर्मित प्राचीन गुफा भेटियो

सुर्खेत, कात्तिक १७–कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–९ लालुको काँडाकोटमा प्राचीन मानवनिर्मित गुफा भेटिएको छ । वडापालिकाले ऐतिहासिक क्षेत्रको संरक्षण गर्न गएको बेला प्राचीन मानवनिर्मित गुफा फेला परेको हो । विगतमा राजाको दरबार भएको क्षेत्रमा करिब ३५ मिटरभन्दा लामो गुफा भेटिएको हो ।

लालुको काँडाकोटमा प्राचीन खस राजाहरूको दरबार रहेको क्षेत्र भएको त्यहाँ युद्ध लड्नका लागि प्रयोग भएका दुईवटा गुफा भेटिएको वडा अध्यक्ष जोरासिंह शाहीले बताए । ‘प्राचीनकालमा राजाको दरबार रहेको क्षेत्र हो,’ उनले भने, ‘त्यहाँ पुग्दा प्राचीनकालमा मान्छेले खनेका दुईवटा गुफा भेटिएका छन् ।’

काँडाकोट अग्लो क्षेत्रमा रहेको अहिले त्यहाँ मानव बस्ती नभएको वडा अध्यक्ष शाहीले बताए । ‘काँडाकोटमा राजाको दरबारको भग्नाअवेश देख्न सकिन्छ,’ उनले भने, ‘त्यहाँ धान कुट्ने गरेको ओखललगायतका अन्य प्राचीन भग्नावशेष पनि फेला परेका छन् ।’ घना जंगलको अग्लो डाँडामा दरबारको अवशेष भेटिएको नजिकै चौर, एउटा प्राचीन ढुङ्गेकुवा पनि भेटिएको वडा अध्यक्ष शाहीले बताए । ‘वरिपरि घना जंगलको बीचको चुचुरोमा प्राचीन मानव बस्तीका धेरै चीज देख्न सकिन्छ,’ उनले भने, ‘यो प्राचीनकालमा मानव बस्ती थियो भन्ने अनुमान लगाउन सकिन्छ।’

प्राचीन मानव निर्मित वस्तुहरू फेला परेका कारणले यसको संरक्षण तथा उत्खनन गरेर यहाँको क्षेत्रका विषयमा अध्ययन गर्न आवश्यक रहेको वडा अध्यक्ष शाहीले बताए । अहिले वडापालिकाले संरक्षणका लागि घेरबारसहित अन्य कामको थालनी गरेको शाहीले जानकारी दिए ।

Featured