देश

प्रधानमन्त्रीको दाबी झुट साबित, भारतले पत्र पठाएका थिए

काठमाडौं, असार २४

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्न भारत बाट कुनै दबाब नआएको दाबी गरेको ठीक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई दबाब पत्र पठाएको खबर बाहिर आएको छ। शनिबार बसेको नेकपाको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले तरकारीमा विषादी परीक्षण नगर्नु भनि कुनै पनि पत्र नआएको दाबी गरेका थिए।

जबकि काठमाडौंस्थित भारतीय दूतावासबाट परराष्ट्र मन्त्रालयलाई सम्बोधन गर्दै असार १४ को मितिमा पठाएको पत्र सोमबार सञ्चार माध्यमहरूमा सार्वजनिक भएको छ।

पत्र सार्वजनिक भएसँगै प्रधानमन्त्रीले यसबारे जानकारी नै नपाएका हुन् वा जानकारी पाएर पनि लुकाउन खोजेका हुन् भन्ने अन्योल पैदा भएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

सरकारले असार २ मा राजपत्रमा सूचना प्रकाशन गरेपछि नाकाहरूमा विषादी परीक्षण सुरु भएको थियो। उक्त कदमले भारतीय व्यवसायीलाई अप्ठेरो परेपछि असार १४ मा भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको हो।

पत्रमा भारतको राष्ट्रिय वनस्पति संरक्षण संस्था तथा कृषि तथा प्रशोधित खाध्य पदार्थ निर्यात विकास प्राधिकरणले नेपालमा निर्यात हुने यस्ता सामग्रीलाई ‘फाइटोस्यानिटरी प्रमाणपत्र’ प्रदान गर्ने गरेको र ती प्रमाणपत्र नेपाली निकायहरूलाई स्वीकार्य रहेको उल्लेख छ। यसरी स्वीकार्य भइसकेको विषयलाई किन पुनपरीक्षण गर्नुपर्‍यो भन्ने दूतावासको पत्रको आशय रहेको छ।