खेलकुद विदेश

लेस्टर सिटी प्रिमियर लिगको तेस्रो स्थानमा, टोटनह्याम रोकियो

एजेन्सी, कात्तिक १८–इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा जित निकाल्दै लेस्टर सिटी पुनः तेस्रो स्थानमा उक्लिएको छ । लेस्टरले क्रिष्टल प्यालेसलाई उसकै मैदानमा २–० ले हराएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएपनि दोस्रो हाफमा लेस्टरले दुई गोल गर्न सफल भयो । लेस्टरका लागि काग्लर सोयुन्चुले ५७ औँ तथा जेमी भर्डीले ८८ औँ मिनेटमा गोल गर्दै महत्वपूर्ण जित दिलाए ।

जितपछि लेस्टर सिटी ११ खेलबाट २३ अंकसहित तेस्रो स्थानमा पुगेको छ । समान अंक रहेपनि गोल अन्तरका आधारमा चेल्सी चौथो स्थानमा झरेको छ । १५ अंकसहित क्रिष्टल प्यालेस भने नवौं स्थानमा छ । गएराति नै भएको अर्को खेलमा टोटनह्यामले एभर्टनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

दोस्रो हाफको ६३ औँ मिनेटमा डेले अलीले गोल गरेपछि टोटनह्यामले अग्रता लिएको थियो । ७९ औँ मिनेटमा खराब ट्याकल गरेपछि टोटनह्यामका सन हेङ्ग–मिनले रातो कार्ड पाएर मैदानबाट बाहिरिए । खेलको अतिरिक्त समयमा एभर्टनका लागि जेन्क टोसुनले बराबरी गोल फर्काए । बराबरीपछि ११ खेलबाट १३ अंक जोडेको टोटनह्याम ११ औं स्थानमा रहेको छ । १७ औं स्थानको एभर्टनको ११ अंक छ ।

Featured