देश

उम्मेदवारी दर्ताको तयारी पूरा, उम्मेदवारको योग्यताका लागि मापदण्ड

काठमाडौं, कात्तिक १८–आगामी मङ्सिर १४ गते हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचन र स्थानीय तह उपनिर्वाचन निर्दे्शिका, २०७६ तयारी गरी उपनिर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको योग्यतामा पनि कडाइ गरेको जनाएको छ । सो दिन प्रतिनिधि सभा सदस्य–एक, प्रदेश सभा सदस्य–तीन, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत ४८ गरी जम्मा ५२ पदमा उपनिर्वाचन हुँदैछ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार चार स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् र २१ गते प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ताका लागि सबै तयारी पूरा भएको बताउनुभयो । कास्की, भक्तपुर, बाग्लुङ र दाङमा ती कार्यालय स्थापना भएका हुन् ।निर्वाचन आयुक्त नरेन्द्र दाहालले उम्मेदवारी दर्ताका लागि सबै तयारी पूरा भएकाले कात्तिक २१ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य र कात्तिक २७ गते स्थानीय तहका लागि उम्मेदवारी दर्ता हुने बताए ।

आयोगले उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गरी विराटनगर, काठमाडौं र नेपालगञ्जमा उपनिर्वाचनसम्बन्धी निर्दे्शिकासम्बन्धी तालिम दिइसकेको छ । आयोगले कात्तिक ८ गतेबाटै सरकार, सञ्चार क्षेत्र, राजनीतिक दल, गैरसरकारी संस्था लगायतलाई निर्वाचन आचारसंहिता लागू गरिसकेको छ । उम्मेदवारको हकमा उनीहरूले निर्वाचन चिह्न पाएपछि आचारसंहिता लागू हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured