खेलकुद देश

एमसीसीसँग नेपाल यु–१९ क्रिकेट टोली पराजित

काठमाडौं, कात्तिक १७ं–मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँगको खेलमा नेपाल यु–१९ क्रिकेट टोली ३८ रनले पराजित भएको छ। नेपाल भ्रमणमा रहेको एमसीसीविरुद्धको एकदिवसीयमा खेलमा नेपाली यु–१९ टोली पराजित भएको हो। किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले दिएको ३ सय ३५ रनको फराकिलो लक्ष्य नेपालले भेटाउन सकेन।नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९६ रन मात्र बनाउन सक्यो। नेपालका लागि हरि चौहानले अर्धशतक बनाएका थिए। उनले ५२ रन तथा कप्तान रित गौतमले ४५ रनको योगदान दिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३४ रन बनाएको थियो।

एमसीसीका लागि विल रोड्सले ९३ रनको अर्धशतकीय पारी खेलेका थिए। यस्तै मिल्स हामोन्ड र टम वेट्सलीले समान ६५ रन बनाएका थिए। एमसिसिका लागि बिलि गोडलम्यानले २२, विल रोडस ९३, टम वेस्टले ६५, विल भ्यान्डर्सपर्स २४, एड योउङ ४५, माइल्स ह्याम्नोल्ड ६५ रनको योगदान दिए।

नेपालका सागर ढकाल र शेर मल्लले समान २–२ विकेट लिएका थिए भने कुशल मल्ल र आकाश चन्दले १–१ विकेट लिएका थिए।अब एमसीसीले सोमबार नेपाली राष्ट्रिय टिमसँग एकदिवसीय खेल खेल्नेछ।

एकदिवसीयपछि एमसीसीले नेपालसँग टी–२० र फस्ट क्लास क्रिकेट खेल्ने छन्। नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन्। नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो।

Featured