खेलकुद देश

‘वर्ल्ड बडी विल्डिङ च्याम्पियनसिप’मा भाग लिन दाहाल यूएई जाँदै

विराटनगर, कात्तिक १७–विश्वले चिनेको तर नेपालले चासो नदिएको खेलको रूपमा शारीरिक सुगठनलाई हेर्ने गरिएको छ । तर, यही खेल खेलेर नेपाललाई विश्वसामु चिनाएका छन् खेलाडीहरूले । यही खेलबाट नेपाललाई पटक–पटक स्वर्ण पदकसमेत दिलाएका छन् । नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडीमध्ये झापाका राम दाहाल पनि एक हुन् । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजेरा सिटीमा यही ६ नोभेम्बरदेखि १० नोभेम्बरसम्म हुने वर्ल्ड बडी बिल्डिङ च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागिता जनाउने खेलाडीमध्येका एक हुन् झापाको बिर्तामोडका दाहाल ।

उनी विश्वसामु ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् । उनीसँगै अन्य चार खेलाडीसमेत सो प्रतियोगितामा भाग लिन सोमबार दुबई प्रस्थान गर्दैछन् । खेलको माध्यमबाट नेपाललाई विश्वसामु चिनाएका दाहालले यसअघि नवौं साफ गेममा ६० केजी तौल समूहमा स्वर्ण पदक हात पार्न सफल भए । हालै चीनमा भएको एसियन गेममा समेत ६५ केजी तौल समूहमा समेत उनले प्रतिस्पर्धा गरेका थिए । जसमा दाहाल चौथो स्थान हात पार्न सफल भएका थिए ।

नेपाल क्लासिकको विजेता, रेन्बो क्लासिकमा गोल्ड मेडल हात पारेका दाहालले १५औं धर्मश्री राष्ट्रिय खुल्ला शारीरिक सुगठनमा ६५ केजी तौल समूहमा विजेता बन्दै स्वर्ण पदक हात पारेका थिए । राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा खेल खेलेर विश्वसामु नेपाललाई चिनाएका दाहालले यो पटक पनि दुबईमा हुने अन्तर्रा्ष्ट्रिय बडी बिल्डिङ च्याम्पियनसिपमा भाग लिने भएका छन् ।

यस पटक दुबईमा हुने ‘वर्ल्ड बडी विल्डिङ च्याम्पियनसिप’मा नेपाललगायत ९० मुलुकका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । दुबई जाने नेपाली टोलीमा चार जना खेलाडीसहित सात जना छन् । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्रा्ष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा सहभागिता जनाउने भएपछि उनलाई बिर्तामोड उद्योग वाणिज्य संघले एक कार्यक्रमका बीच बिदाइ गरेको छ ।

सन् २०१३ मा हङकङमा भएको साफ खेलकुद प्रतियोगितामा शारीरिक सुगठनको ६० केजी तौल समूहमा रजतपदक जितेर अन्तर्रा्ष्ट्रिय ख्यातिको शुरूआत गरेका दाहाललदे सन् २०१५ र २०१८ मा भएको साफ खेलकुदमा ६० केजी तौलसमूहमा स्वर्णपदक जित्न सफल भइसकेका छन् ।

Featured