देश

नेकपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार

काठमाडौं, कात्तिक १७–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचनका लागि संघ, प्रदेश र एक स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ । आइतबार साँझ बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले १४ मंसिरमा हुन लागेको उपनिर्वाचनका उम्मेदवार तोकेको हो।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रतिनिधिसभाका लागि कास्की २ मा विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको छ । नेत्रृ भट्टराई सोही क्षेत्रबाट निर्वा्चित पूर्वमन्त्री स्व. रवीन्द्र भट्टराईकी पत्नीसमेत हुन् । सचिवालय बैठकले दुईवटा प्रदेशका उम्मेदवार पनि टुंगो लगाएको छ जसअनुसार, दाङ ३ (ख)मा विमला ओली र भक्तपुर १ (ख)मा देवीप्रसाद ढकाललाई अगाडि सारिएको छ ।

बाग्लुङमा जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय बैठकले गरेको छ । सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि नेकपाले प्रकाश राईलाई उम्मेदवार बनाएको छ । अन्य स्थानीय तहका उम्मेदवार भने जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले टुंगो लगाउने गरी निर्णय भएको प्रवक्त श्रेष्ठले जानकारी दिए ।

प्रदेश प्रमुखहरुको विषयमा भने बैठकमा विशेष रुपमा छलफल नै नभएको श्रेष्ठले बताए । ‘राष्ट्रपतिको विज्ञप्तिबाट प्रदेश प्रमुखहरू बर्खास्त गरिएको कुरा पार्टीले थाहा पायो,’ श्रेष्ठले भने, ‘सरकारले चाँडै रिक्त पदमा नयाँ प्रदेश प्रमुखहरू नियुक्त गर्ला ।’

Featured