देश

अतिक्रमित फुटपाथ खाली गराउन अल्टिमेटम

पोखरा , कात्तिक १७–मुख्य बजारकै फुटपाथ अतिक्रमण गरी व्यापार, व्यवसाय गरेको पाइएपछि त्यसलाई हटाउन पोखरा महानगरपालिकाले ७ दिने अल्टिमेटम दिएको छ । फुटपाथ अतिक्रमण गरी पसलका सामग्री राख्ने व्यापारीहरुलाई महानगरले आइतबारदेखि अल्टिमेटसहितको पत्र दिन सुरु गरेको छ ।

पोखराको महेन्द्रपुल, पालिखेचोक, चिप्लेढुंगा, सिद्धार्थचोक, न्युरोड, पृथ्वीचोक, सिर्जनाचोक, बिरौटा, बगर लगायतका बजार क्षेत्रमा सबैभन्दा बढी फुटपाथ अतिक्रमण भएको पाइएको महानगरले जनाएको छ । व्यापारीहरुले फुटपाथमा समेत पसलका सामान राख्न थालेपछि पैदलयात्रीलाई आवतजावतम समस्या हुने भएकाले अतिक्रमण हटाउन अभियान नै थालिएको महानगरले जनाएको छ । यसका लागि महानगरको निरीक्षण महाशाखाका प्रहरी नायब निरीक्षक पुरुषोत्तम थापाको संयोजकत्वमा समितिसमेत गठन भएको छ ।

समितिका संयोजक थापाले कतिपय ठाउँमा एउटा पसलको अगाडि अर्को पसल पनि राखेको पाइएकाले त्यसलाई हटाउन आइतबारदेखि पत्र दिन सुरु गरिएको बताए । ‘मुख्य बजार क्षेत्रमा फुटपाथ अतिक्रण गरी व्यापार व्यवसाय गरेका सबैलाई पत्र दिइन्छ । पत्र दिएको मितिदेखि सात दिनभित्र सामग्री नहटाए कारबाही हुन्छ,’ उनले भने । महानगरले अटेर गर्नेलाई ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

‘सटरमा पसल छ, त्यही पसलअगाडि एक छेउमा फुटपाथ अतिक्रमण गरी फलफूल पसल राखिएको पाइएको छ,’ संयोजक थापाले भने, ‘अतिक्रमित फुटपाथ खाली गराउन महानगरले पत्र दिएको हो, नहटाए कारबाही हुन्छ ।’ संयोजक थापाको नेतृत्वमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि खटिएका छन् ।

गत कात्तिक ७ गते बसेको पोखरा महानगरपालिकाको बैठकले फुटपाथ अतिक्रमण गरेर राखिएका सामग्री हटाउने निर्णय गरेको थियो । बैठकले पृथ्वीचोकस्थित सस्तो बजार अगाडिबाट माइक्रो स्टेसनलाई हटाइ फुटपाथ खाली गराउने तथा चिप्लेढुंगाको चौतारीअगाडि कुनै पनि कार्यक्रम गर्न नदिने निर्णय पनि गरेको छ ।

Featured