देश

महराको पक्षमा २० वकिलले वकालत गर्दै

काठमाडौं, कात्तिक १७–संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा १९ असोजमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा आजदेखि थुनछेक बहस सुरू हुँदैछ । पक्राउ परेको करिब एक महिनापछि महारामाथिको थुनछेक बहस आइतबार हुने भएको हो । प्रहरीले ८ कात्तिकमै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालमा पेस गरे पनि तिहार बिदाका कारण महराको मुद्दा अदालत दर्ता गर्न ढिला भएको थियो ।

प्रहरीले २५ दिन थुनमा राखेर महरामाथि अनुसन्धान गरेको थियो । प्रहरीको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले महरामाथि साढे ७ वर्ष जेल सजायसहित जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको छ । जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महरा माथिको थुनछेक बहस हुनेछ ।

महराको पक्षमा २० वकिल
अदालत स्रोतका अनुसार महराको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायधिवक्ता रमन श्रेष्ठसहित २० जनाले वकालत गर्ने भएका छन् । अन्य वकिलहरूमा नेपाल बारका पूर्वअध्यक्ष शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, मनिषकुमार श्रेष्ठ, रामकुमार आचार्य, चन्द्रप्रसाद गुरागाईंसहित रहेका छन् ।

यस्तै, उनको विपक्षमा जिल्ला न्यायधिवक्ताहरू चन्द्रकान्त खनाल, उमाकान्त पौडेल, हरिप्रसाद रेग्मी, सहायक जिल्ला न्यायधिवक्ता सिर्जना ढकालले वकालत गर्नेछन् । महराले शुक्रबार अदालतले लिएको बयानमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । यसअघि प्रहरी समक्ष दिएको बयानजस्तै घटना भएको भनिएको दिनमा आफू तीनकुने क्षेत्रमा पुगेको तर रोशनी शाहीको घरमा नपसेको बताएका थिए ।

Featured