देश साहित्य

सुन्दर कुरूपको ‘पृथ्वीको आविष्कार’ सार्वजनिक

काठमाडौं, कात्तिक १७–कवि सुन्दर कुरूपको कविता संग्रह ‘पृथ्वीको आविष्कार’ शनिबार सार्वजनिक भएको छ । राजधानीको अनामनगरस्थित मण्डला थियटरमा कविता सार्वजनिक गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको प्रमुख आतिथ्यमा कविता संग्रह सार्वजनिक भएको हो । विमोचन कार्यक्रममा बोल्दै प्राज्ञ काइँलाले कवि सुन्दरले कवितामा नेपाली परिवेशका विभिन्न राजनीतिक र सामाजिक उतारचढावको मार्मिक प्रस्तुति गरेको बताए ।

कार्यक्रममा सृजनशील अराजकताका अभियन्ता कवि हाङयुग अज्ञातले पृथ्वीमा रहेका प्रत्येक व्यक्तिको आ–आफ्नै छुट्टै पृथ्वी हुने कुरालाई कविले कवितामार्फत प्रस्तुत गर्न खोजेको बताए । नेपाली कविहरूले विज्ञानसम्मत कुराहरू लेख्नुपर्ने र त्यसमा मौलिकता पनि जोडेर लैजानुपर्ने कुरामा उनले जोड दिए ।

युवा राजनीतिज्ञ मानुषी यमी भट्टराईले कवि सुन्दरका कविताहरू राजनीतिज्ञहरूले पढ्न आवश्यक रहेको बताइन् । उनले सुन्दरका कविताहरूले सांस्कृतिक अभियान र आन्दोलनहरूमा टेवा पुर्याउने मत राखिन् । साङ्ग्रिला बुक्सले प्रकाशित गरेको यो कविता संग्रहको मूल्य २ सय ९९ रुपैयाँ रहेको छ ।

Featured