विदेश

लरी प्रकरणः मानव तस्करीको भियतनामद्वारा निन्दा

एजेन्सी, कात्तिक १७–बेलायत प्रहरीले एसिक्समा एउटा लरीमा भेटिएका ३९ शव सबै भियतामी नागरिकहरूको भएको बताएपछि भियतनाम सरकारले मानव तस्करीको कडा शब्दमा निन्दा गरेको छ । भियतनामको विदेश मन्त्रालयले सबै देशहरूलाई यस्तो अपराधसँग जुध्न आपसी सहयोग बढाउन आग्रह समेत गरेको छ । भियतनाम तथा बेलायतका अधिकारीहरुले २३ अक्टोबरमा फेला परेका शवहरूको पहिचान गर्ने कार्य जारी राखेका छन्।

सो घटनासँग सम्बन्धित भएको आशंकामा धेरैलाई पक्राउ गरिसकिएको छ । सोमवार सो लरीका चालक मउरिस रबिन्सनलाई हत्याको अभियोग सामना गर्न अदालतमा उपस्थित गराइएको थियो। अभियोजनकर्ताहरूले रबिन्सन मानव तस्करीको विश्वव्यापी समूहको हिस्सा भएको आरोप लगाएका छन्। प्रहरीले उत्तरी आयरल्याण्डका दुई दाजुभाइलाई पनि सोही अभियोगमा खोजी कार्य तीव्र खोजी गरिरहेका छन् । भियतनाम प्रहरीले पनि दुई जनालाई मानव तस्करीको आरोपमा पक्राउ गरेको छ।

Featured