खेलकुद विदेश

प्रिमियर लिगमा शीर्ष क्लब लिभरपुल, सिटी र चेल्सी विजयी

एजेन्सी, कात्तिक १७–इंग्लिस प्रिमियर लिगमा शीर्ष क्लबहरु लिभरपुल, म्यान्चेस्टर सिटी र चेल्सीले जित हात पारेका छन् । गएराति भएको खेलमा लिभरपुलले एस्टनभिल्लामाथि २–१ को जित निकालेको छ । अन्तिम समयमा गोल गर्दै लिभरपुलले १० महिनादेखि लिगमा आफ्नो अपराजित यात्रा जोगाएको हो ।

एस्टन भिल्लाको मैदानमा भएको खेलमा २१ औँ मिनेटमा ट्रेजिगेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ८७ औं मिनेटसम्म १–० ले पछि रहेको लिभरपुल नाटकीय पुनरागमन गर्न सफल भयो । ८७ औँ मिनेटमा एण्डी रोबर्टसनले लिभरपुलका लागि बराबरी गोल फर्काए भने इन्जुरी समयको चौथो मिनेटमा सादियो मानेले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए । जितपछि शीर्ष स्थानको लिभरपुलको ११ खेलबाट ३१ अंक भएको छ ।

गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले पनि साउथ ह्याम्पटनलाई २–१ ले हराएको छ । सिटीले पनि १–० ले पछि परेको स्थिति उल्टाउँदै जित निकाल्यो । १३ औँ मिनेटमा जेम्स वार्ड–प्राउजले गोल गर्दै साउथह्याम्प्टनलाई अग्रता दिलाएका थिए । सिटीका लागि ७० औँ मिनेटमा सर्जियो अग्युरोले बराबरी गोल फर्काए भने ८६ औँ मिनेटमा कायल वाकरले गोल गर्दै महत्वपूर्ण ३ अंक दिलाए । जितपछि दोस्रो स्थानको सिटीको ११ खेलबाट २५ अंक भएको छ । ८ अंकसहित साउथह्याम्प्टन १८ औं स्थानमा छ ।

यस्तै वाटफोर्डलाई २–१ ले हराउँदै चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीका लागि खेलका ५ र्औ मिनेटमा नै टामी अब्राहमले गोल गर्दै अग्रता दिलाएका थिए । चेल्सीका लागि ५५ औँ मिनेटमा क्रिष्टियन पुलिसिकले गोल गर्दै अग्रता दोब्बर पारे ।

वाट्फोर्डले ८० औँ मिनेटमा भिएआर मार्फत पेनाल्टी पाएपछि जेरार्ड डेउलोफेउले एक गोल फर्काए । जितपछि चेल्सीको ११ खेलबाट २३ अंक भएको छ। पुछारमा रहेको वाट्फोर्डको ५ अंक छ । लिग अन्तर्गत गएरातिका अन्य खेलमा न्युक्यासलले वेष्टह्यामलाई ३–२, शेफिल्ड युनाइटेडले बर्नलीलाई ३–०, ब्राइटनले नर्विचलाई २–० तथा बोर्नमाउथले म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेका छन् भने आर्सनल र वुल्भ्सले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Featured