देश

छोरी जन्मिए बैंक खाता

दैलेख, कात्तिक १७–भैरवी गाउँपालिका–५ की ममता थापाले कात्तिक पहिलो साता छोरी जन्माइन्। परिवारले जन्मदर्ता गरिदिएपछि सातामै गाउँपालिकाले अनिताको नाममा बैंक खाता खोलिदियो। गाउँपालिकाले उनको खातामा एक हजार रुपैयाँ जम्मा र्गयो। गाउँपालिकाले हरेक वर्ष एक हजार रुपैयाँका दरले २० वर्षसम्म उनको खातामा रकम जम्मा गरिदिनेछ। गाउँपालिकाले चालु आर्थिक वर्षदेखि बालिकाका नाममा खाता खोल्न सुरु गरेको हो।

यसरी रकम पाउन स्वास्थ्य चौकीमै सुत्केरी भएको हुनुपर्नेछ भने बच्चा जन्माउने आमाको उमेर २० वर्ष पूरा हुनुपर्नेछ। उमेर नपुगी विवाह गरी बच्चा जन्माएका, घरमै जन्मिएका र दुईभन्दा बढी सन्तान जन्माउनेले यस्तो सुविधा पाउँदैनन्। गाउँपालिकाले ‘छोरी प्रोत्साहन’ कार्यक्रममार्फत छोरीमैत्री गाउँ निर्माण गर्ने अभियान थालेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले बताए।

‘छोरी जन्माउँदा अभिभावकले गर्व गर्ने वातावरण बनाउन खोजिएको हो’, अध्यक्ष बुढाले भने, ‘हामीले खोलिदिएको खातामा अभिभावकले थप रकम जम्मा गरेर छोरीको आधारभूत आवश्यकता पूरा गराउन सक्छन्।’ चौथो गाउँसभाबाट पारित गरेर ‘छोरी प्रोत्साहन’ कार्यक्रम सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद देवकोटाले बताए। यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

Featured