देश राजनीति

ठूला दललाई उम्मेदवार छान्नै हम्मे, साना कुर्दै

काठमाडौं, कात्तिक १७–उपनिर्वाचनका लागि ठूला दललाई उम्मेदवार छान्नै सकस देखिएको छ । जिल्ला तह हुँदै केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारका नाम धेरै भएपछि दलहरूलाई उम्मेदवारबारे निर्णय लिन सकस हुँदै आएको हो । १४ मंसिरमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी कुल ५२ पदका लागि उपनिर्वाचन हुँदै छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)देखि विपक्षी कांग्रेस हुँदै अन्य साना दलले समेत उपनिर्वाचनका लागि अहिलेसम्म उम्मेदवारबारे निर्णय गर्न सकेका छैनन् ।

खासगरी ठूला दलभित्र उम्मेदवारका लागि आकांक्षी धेरै देखिँदा नाम टुंगो लगाउन सकस पर्दै आएको छ । यसैगरी, एउटा कुनै नाममा तत्कालै निर्णय गर्न समेत असन्तुष्ट पक्षको असहयोग रहने आँकलन गर्दै दलहरूले सकभर मिलाएर र फकाएरै एक जनालाई सर्वसम्मत उम्मेदवार बनाउने कोसिस गरिरहेका छन् ।

सत्तारूढ दल नेकपाले शनिबार नै उम्मेदवारबारे छलफल गर्न भन्दै सचिवालय बैठक बोलाएको थियो । तर, बैठकमा क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट सिफारिस भई आएका नामका विषयमा सामान्य छलफल मात्रै भएको र आइतबार थप छलफल गर्ने गरी सचिवालय बैठक बोलाइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले शुक्रबारका लागि उम्मेदवारबारे छलफल गर्न भन्दै केन्द्रीय समिति बैठक डाकेको थियो । सो बैठकले समेत पदाधिकारीलाई नै उम्मेदवारबारे अन्तिम निर्णय गर्ने अधिकार दिएको छ । कांग्रेस पदाधिकारी बैठक आइतबार (आज) नै सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्दै छ । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured