देश राजनीति

उपनिर्वाचन : कास्की २ मा विद्यालाई उम्मेदवार बनाउने नेकपाको निर्णय

काठमाडौं, कात्तिक १६–आगामी मंसिर १४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभा सदस्य पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भट्टराईलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

उपचुनावका उम्मेदवारहरु छनोटका लागि शनिबार नेकपा सचिवालयको बैठक बसेको थियो । झण्डै तीन घन्टासम्म चलेको बैठकमा उपचुनावका लागि क्षेत्र, जिल्ला र प्रदेशबाट आएका नामहरुबारे छलफल भएको थियो । स्रोतका अनुसार कास्की २ मा विद्यालाई उम्मेदवार बनाउन सचिवालयका सबै सदस्य सहमत भएका छन् ।

अरु सबै उम्मेदवारको टुंगो लगाएपछि एकसाथ घोषणा हुने श्रोतले जनाएको छ । कास्की जिल्ला कमिटीले सर्वसम्मत रुपमा उम्मेदवारका लागि विद्याको मात्र नाम सिफरिस गरेको थियो । तर गण्डकी प्रदेश कमिटीले सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङ करणको नाम थपेर केन्द्रमा पठाएको थियो ।

Featured