देश

राष्ट्रपतिले दिइन् सूर्यलाई अर्घ्य, धुमधाम मनाइँदै छठ पर्व

काठमाडौं, कात्तिक १६–राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको उपलक्ष्यमा गुह्येश्वरीमा गई सूर्यलाई अर्घ्य दिएकी छन् । बाग्मती नदीमा स्थापित छठी माताको मन्दिरमा पूजाअर्चना गरी राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी हुन् । उनले कमलपोखरीमा समेत पुगेर सूर्यको आराधना गरी अर्घ्य दिएकी छन् ।

छठ पर्वको मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने गरिन्छ । खास गरेर आज साँझ तराइका जिल्लाहरूमा नदी, तलाउ लगायतका जलाशय किनारमा सूर्यको पूजाअर्चना गरी स्थानीयवासीहरू धुमधामका साथ छठ पर्व मनाइरहेका छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको छठ पर्व बिहीबारदेखि सुरु भएको हो । छठ पर्वमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।

Featured