देश राजनीति

कृष्णानगर घटना : गृहमन्त्रीको निर्देशनमा मुस्लिम नेता जमाल साह पक्राउ

काठमाडौं, कात्तिक १६–कपिलवस्तुको कृष्णानगरमा धार्मिक सहिष्णुता विथोल्न खोजेको आरोपमा मुस्लिम नेता जमाल साहलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार दिउँसो कृष्णानगरस्थित निवासबाट साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तौलिहवाका प्रमुख एसपी दीपशमसेर जबराले जानकारी दिए । स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साहमाथि १३ कात्तिकमा लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्न गइरहेको समूहमाथि आक्रमण गरी धार्मिक सहिष्णुता विथोल्न खोजेको आरोप छ । लक्ष्मीपूजाको मूर्ति बिसर्जन र्यालीलाई मुस्लिम वाहूल्य वस्तीबाट नलैजान प्रहरीले आग्रह गरेको थियो । यही विषयमा विवाद चर्किँदै जाँदा कृष्णनगरमा कफ्र्यु लगाइएको थियो । कर्फ्युकै क्रममा झडप हुँदा कृष्णनगरका व्यवसायी २० वर्षीय सुरजकुमार पाण्डेको गोली लागेर मृत्यु भएको थियो ।

आरोपित साहलाई म्याद थप गरी अनुसन्धान गर्ने एसपी जबराले बताए । ‘कृष्णानगर घटना’लाई लिएर १६ कात्तिकमा नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधिसभाका सांसद अभिषेकप्रताप शाहले कृष्णानगरमा धार्मिक दंगा फैलाएर लाभ लिन सक्रिय समूहलाई हदैसम्मको कानूनी कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका थिए ।

‘कृष्णानगर नगरपालिकास्थित झण्डेनगरमा तीन वटा ठाउँमा लक्ष्मीको मूर्ति बनाइ पूजाअर्चना गरी दीपावली मनाई साँझ करीव ५ बजेको समयमा मूर्ति विसर्जन गर्न लैजाँदा बाटो साँघुरो रहेकाले ट्याक्टरमा राखेको डिजे बाजालाई बन्द गरी मदरसा नजिको छेउको सडक हुँदै मूर्तिलाई लिएर गोलघर ल्याउने क्रममा जमाल साहको नेतृत्वमा रहेका करिब २०–२५ जनाको समूहमा रहेका मुस्लिम समुदायका मान्छेहरूले एकाएक आक्रमण गरी ट्याक्टर तोडफोड गर्दै हिन्दू समुदायको घरमा प्रवेश गरेर कुटपिट गरेका छन्’, ज्ञापन पत्रमा भनिएको थियो, ‘रातभरि हिन्दू समुदायको घरमा आक्रमण गरिएको छ ।’ ज्ञापनपत्र बुझेपछि गृहमन्त्री थापाले दोषी देखिए साहलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

Featured