देश

देउसीभैलो खेलेर आश्रमलाई सहयोग

सुर्खेत, कात्तिक १६–वीरेन्द्रनगर नगरपालिका– १२ स्थानीयहरुले देउसीभैलो खेलेर संकलन भएको रकम मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । जनकल्याणकारी टोल विकास संस्थाले ४ हजार ६० रुपैयाँ तथा तीन बोरा चामल आश्रमलाई सहयोग गरेको हो ।

देउसीभैलोबाट रकम संकलन गरेर घुम्न वा वनभोज जानेभन्दा सामाजिक कार्यमा लगाउने संस्कारको थालनी होस् भनेर सानो रकम भए पनि आफूहरुले आश्रमलाई सहयोग गरेको टोल विकास संस्थाका अध्यक्ष झंकराज काफ्लेले बताए । उनले नेपाली परम्पराअनुसार देउसीभैलो खेल्नु राम्रो भए पनि यसरी जुटेको पैसा मनोरञ्जनमा खर्च गर्नु उचित नभएको बताए ।

‘आ(आफ्नो ठाउँबाट सबैले केही सहयोग गर्ने हो भने सामाजिक कार्य गर्न वा सामाजिक संस्था चलाउन धेरै राहत हुन्छ । हामीले केही समय देउसीभैलो खेलेको रकमले यस्तो कार्यको सुरुवात गरेका हौँ । अरुलाई पनि यस्तै सामाजिक कार्य गर्न म आग्रह गर्छु,’ उनले भने । मानव सेवा आश्रम कर्णाली प्रदेशकी संयोजक सिर्जना ओलीले सहयोगप्रति टोल विकास संस्थालाई धन्यवाद दिइन् ।

Featured